बेनी
कात्तिक ५
कक्षा १२ को परीक्षा यस वर्षको छठपर्व पछि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार छठलत्तै परीक्षा सञ्चालन गर्नेगरी कार्यविधि निर्माण र समयतालिका प्रकाशन हुन लागेको हो । यस वर्षको छठपर्व मंसिर ५ गते परेको छ ।
प्रस्तावित कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा हुनेछ । त्यसैगरी ११ कक्षामा विद्यार्थीले प्राप्त गरेको नतिजाका आधारमा थप ४० प्रतिशत र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा मान्यता दिने तयारी भैरहेको छ । प्रयोगात्मक परीक्षा भने पहिले जसरी नै हुने बोर्डले जानकारी दिएको छ ।
४० प्रतिशतको छोटो परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर कायम गरेर एकैपटक सञ्चालन गर्ने सदस्य सचिव अर्यालको भनाइ छ ।
मन्त्रिपरिषद्को दुई साताअघिको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको र शिक्षा मन्त्रालयले पनि कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न सहमति दिएपछि परीक्षाको तयारी शुरु भएको बोर्डको भनाइ छ ।
कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ ।