बेनी
कात्तिक ५
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सबै मन्त्रीहरुले प्राप्त गर्ने चाडपर्व बापतको भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने भएको छ । बुधबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण सर्वसाधारण नागरिकले समस्या भोगिरहेका बेला मन्त्री, सांसद र तिनका सहयोगीले भत्ता लिएको भन्दै व्यापक आलोचना हुँदै आएको थियो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गण्डकी प्रदेश मन्त्रिपरिषदको आज २०७७ कात्तिक बिहानको बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।’
त्यसो त कोरोना भाइरसको लक्षण देखिएका वा थप उपचार गर्नुपर्नेलाई निशूल्क रुपमा उपचार गर्ने घोषणा गण्डकी सरकारले यसअघि नै गरिसकेको छ ।
मङ्गलबार बेनीमा पत्रकारसँग बोल्दै गण्डकी आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले महामारी शुरु भएपछि प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा निकै सुधार गरेको बताएका थिए ।