बेनी
कात्तिक ८
सूचना तथा सञ्चार प्रविधि मन्त्रालय आफ्नो अडानबाट टसको मस नभएपछि नेपालमा प्रसारण हुँदै आएका विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनमुक्त (क्लिन फिड) हुन थालेका छन् । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुमा क्लिन फिड लागू भएको हो ।
विदेशी च्यानलहरुको प्रत्यक्षपरोक्ष दबावमा मन्त्रालयले यसअघि क्लिन फिड लागू गर्ने म्याद सार्दै आएको थियो । तर, यसपटक ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू गर्नेमा मन्त्रालय अडिग रहेपछि विदेशी च्यानलहरु विज्ञापनमुक्त हुनथालेका छन् ।
‘विज्ञापन नियमन गर्ने व्यवस्था सम्बन्धी ऐन–२०७६’ अनुसार विदेशी टेलिभिजन च्यानलहरु कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने व्यवस्था थियो । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।
भारतीय ब्रोडकास्टर्स फोरम, डिस्कभरी नेटवक्र्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग भए पनिसरकारले अस्वीकार गरेको थियो । अब ऐनले तोकेको मापदण्ड पूरा नगरेको पाइएमा कानून अनुसारको कारवाही हुने मन्त्रालयले बताएको छ ।
नेपाल केबल टेलिभिजन महासंघका अनुसार अहिले ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुँदैछन् । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको पनि महासंघले जानकारी दिएको छ ।
विज्ञापन व्यवस्थापन गर्ने सम्बन्धमा बनेको ऐनलाई दृढतापूर्वक कार्यान्वयन गरेकोमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सरकारलाई धन्यवाद दिएका छन् ।
सामामाजिक सञ्जाल फेसबुकमा एक भनाइ लेख्दै त्रिपाठीले भनेका छन्, “आज देखि ‘क्लिनफीड’ नीति कार्यान्वयनमा आएको छ। यदि नेपाली सञ्चार व्यवसायीहरुका निम्ति नेपाली सन्चार व्यवसायीहरूका निम्ति ‘क्लिनफीड’ खुशीको विषय हो भने यसका निम्ति धन्यवाद दिनुपर्ने एकमात्र व्यक्ति गोकुल बास्कोटा हुन्, बास्कोटा सञ्चार मन्त्री नभएको भए यो असम्भव प्रायः थियो।”
विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनमुक्त (क्लिन फिड) भएपछि अनावश्यक विज्ञापनको बोझ कम हुने अपेक्षा गरिएको छ ।