बेनी
कात्तिक ८
नेपालका दुई जना किशोरले महत्वपूर्ण अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । यस वर्षको ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’ मा नेपालले दुइटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको हो।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल भई पुरस्कार जित्नेमा सेन्ट जेभियर्स कलेज, काठमाडौंका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, काठमाडौंका अंशुराज सेढाईं रहेका छन् । उनीहरुले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
नेपालका तर्फबाट अध्यक्ष भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा सोसाइटीका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसिएट सदस्य तथा पूर्व ओलम्पियाड प्रतियोगीहरू विजयचन्द्र लुईंटेल तथा अङ्कित वेन्जु श्रेष्ठ सहभागी भएको सोसाइटीले जनाएको छ । व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको हो ।
असोज ९ गतेदेखि सुरू भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कात्तिक ७ गते समापन भएको हो । प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए ।
सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनोट भएका १४ विद्यार्थीलाई नेपालबाट प्रतियोगितामा सहभागी गराइएको थियो ।
कोलम्बियामा हुने भनिएको चौधौं ‘इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’ कार्यक्रम कोभिड–१९ को कारण २०२१ का लागि सारिएको छ । पूर्वनिर्धारित कार्यक्रम स्थगित भए पनि विद्यार्थीको मनोबल उच्च राख्न अनलाइन प्रतियोगिता सञ्चालन गरिएको बताइएको छ ।
नेपालमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने २० वर्षभन्दा मुनिका विद्यार्थीले यसमा सहभागी भई आफ्नो प्रतिभा देखाउन पाउँछन् ।

