बेनी
असोज २५
कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा फैलिएको आशङ्का भैरहेका बेला म्याग्दीका दुई ठूला राजनीतिक दलले आफ्ना गतिविधि तत्कालका लागि स्थगित गरेका छन् । आइतबार विज्ञप्ति प्रकाशन गर्दै नेकपा म्याग्दी र नेपाली कांग्रेसले तत्कालका लागि पार्टी गतिविधि स्थगित भएको जानकारी गराएका हुन् ।
नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा कोरोना भाइरसको महामारी बढिरहेको र म्याग्दीमा पनि समुदाय स्तरमा फैलिएको आशंका भएकोले पार्टीको बैठक, भेला, आमसभालगायतका कार्यक्रम स्थगित गरिएको उल्लेख छ । “स्वास्थ्य मापदण्डको ख्याल गर्दै पार्टी गतिविधि गर्दै आइरहेकोमा,” अ्रध्यक्ष पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ, “आजको मितिदेखि अर्को सूचना नभएसम्मका लागि प्रशिक्षण, आमसभालगायतका कार्यक्रम नगर्ने निर्णय भएको छ ।”
त्यसैगरी कांग्रेस म्याग्दीले पनि महामारीको फैलिँदो अवस्थालाई हेर्दै जमघट हुने खालका कार्यक्रम स्थगित गरिएको बताएको छ । पार्टी सभापति खमबहादुर गर्बुजाले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘जनहितलाई मध्यनगर गरी पार्टीका सभा, सम्मेलन जस्ता कार्यक्रम स्थगित गरिएको’ उल्लेख छ ।
चुनाव आउन अझै दुई वर्ष बाँकी रहे पनि म्याग्दीका ठुला भनिएका राजनीतिक दलले गाउँगाउँ पुगेर पार्टी प्रवेशका कार्यक्रम सञ्चालन गरेको भन्दै जनस्तरमा आलोचना हुँदै आएको थियो ।
खासगरी जिल्लाको धवलागिरी र मालिका गाउँपालिकामा केन्द्रित नेकपा र कांग्रेस म्याग्दीका गतिविधिले ‘एकै दिन एउटै व्यक्ति दुइटै दलमा प्रवेश गरेको समाचार आउन सक्ने’ भन्दै आलोचना भएको थियो ।


