बेनी
असोज २७
गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई कोरोना भाइरसको सङ्क्रमण भएपछि पर्वतको जलजला गाउँपालिकाका सबै सेवा बन्द भएका छन् । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले उक्त जानकारी दिएका हुन् । गण्डकी प्रदेश पोखराको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा अध्यक्ष मल्ललाई सङ्क्रमण पुष्टि भएको हो ।
अहिले पोखरास्थित चरक अस्पतालको आइसोलेसनमा रहेका मल्लको स्वास्थ्य अवस्था सामान्य रहेको पनि गाउँपालिकाले बताएको छ ।
अध्यक्ष मल्ललगायत जलजलाका ४४ जनाको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाएकोमा अध्यक्ष मल्ल र वडा नम्बर ८ का एक युवामा कोरोना सङ्क्रमण देखिएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्षलाई सङ्क्रमण भएपछि गाउँपालिकाका कर्मचारीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेकोले अर्को सूचना नभएसम्मका लागि गाउँपालिका र वडाबाट प्रदान गरिने सबै सेवा बन्द भएको शर्माले बताए ।

