Notification

×

Iklan

Iklan

मराङ र बिमका पहिरो पीडितलाई राहत वितरण

Tuesday, October 6, 2020 | October 06, 2020 WIB Last Updated 2021-12-30T03:26:21Z

 बेनी

असोज २०


मराङ र बिमका पहिरो पीडित नागरिकलाई गण्डकी प्रदेश सरकारले नगद राहत वितरण गरेको छ । मङ्गलबार प्रभावित क्षेत्रमा पुगेर आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतको टोलीले राहत वितरण गरेको हो । 

असारको २५ र २६ गते गएको पहिरोबाट ज्यान गुमाएका आफन्तहरुलाई जनही ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको थियो । कार्यक्रममा उपस्थित २० जना पहिरो पीडितले ५० हजारका दरले राहत बुझेको र बाँकी रहेकालाई पछि जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराउने नायब सुब्बा लिलानाथ चोखालले जानकारी दिएका छन् । 



राहत वितरणका क्रममा बोल्दै आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले आपतकालीन उद्धार र राहतको काम सकिएकोले अब सरकारको ध्यान क्षतिग्रस्त संरचनाको भौतिक निर्माणतर्फ केन्द्रित भएको धारणा राखेका थिए । 

सोही कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले पहिरोमा परी घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले ब्यहोरेको र विस्थापितको पुनस्र्थापनाका लागि जग्गा पहिचान गर्न सम्बन्धित गाउँपालिकालाई अनुरोध गरिन् । “पहिरो पीडितहरुको पुनस्र्थापनामा कुनै भेदभाव हुँदैन,” मन्त्री पुनले भनिन्, “देशका अन्य ठाउँका पहिरो पीडितसरह म्याग्दीका पीडितले पनि समान सुविधा पाउनु हुन्छ ।” 


कार्यक्रममा धवलागिरी तथा मालिका गाउँपालिकाका अध्यक्षहरु क्रमशः थमसरा पुन र श्रीप्रसाद रोका, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवर, सशस्त्रका डिएसपी हरिबहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।


मराङ र बिमका पहिरो पीडितलाई यसअघि केन्द्र सरकारबाट प्रतिव्यक्ति एक लाख तथा धवलागिरी गाउँपालिकाले समेत प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको थियो । त्यसैगरी धवलागिरी गाउँपालिकाले मृतकको काजकिरियाका लागि भन्दै जनही १० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।


×
Berita Terbaru Update