बेनी
असाेज २१
सरकारले स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । असाेज १९ गते बसेकाे मन्त्रिपरिषद् बैठकले गत चैतदेखि स्थगित सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हाे ।
![]() |
मन्त्री ज्ञवाली |
कोरोना संक्रमण शुरू भएपछि चैतयता निर्धारित परीक्षा स्थगित भएकामा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर त्यस्ता परीक्षा सञ्चालन गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सबै परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको मन्त्री ज्ञवालीकाे भनाइ थियोे । 'नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवं सुरक्षासम्बन्धि मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी परीक्षासम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ,' ज्ञवालीले भने ।
![]() |
फाइल तस्विर |
लकडाउन (बन्दाबन्दी) जारी गरिएपछि एसईई, कक्षा ११ र १२ का परीक्षा रोकिएका थिए । एसईईको परीक्षा आन्तरिक मूल्यांकनमार्फत गरेर नतिजा प्रकाशन भए पनि अन्य परीक्षा भने हुन सकेका थिएनन् । परीक्षा कहिले हुने, कुन विधिबाट हुने भन्ने निर्णय हुन नसक्दा विद्यार्थीहरू निकै अन्याेलग्रस्त छन् ।
मन्त्रिपरिषद्को यो निर्णयले सबै तह र विषयका विद्यार्थीले परीक्षामा सामेल हुन पाउनेछन् ।