Notification

×

Iklan

Iklan

म्याग्दीमा एकै दिन सात जना सङ्क्रमित

Friday, October 9, 2020 | October 09, 2020 WIB Last Updated 2021-12-30T03:26:18Z

 बेनी 

असोज २३



म्याग्दीमा एकै दिन सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, म्याग्दीले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिका अनुसार नेपाली सेनाका दुई जवानसहित सात जना सङ्क्रमित भएका हुन् ।


सङ्क्रमित हुनेमा माउण्ट एभरेष्ट स्कुलको क्वारेन्टाइनमा बसेका बेनी नगरपालिका– २ का २८ वर्षीया महिला, १० वर्ष र ८ वर्षका दुई बालक, दुबईबाट आई म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा बसेका बेनी नगरपालिका–९ का २४ वर्षीय पुरुष र बाहिरी जिल्लाबाट आई नेपाली सेनाको क्वारेन्टाइनमा बसेका ३८ र ३६ वर्षका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।


त्यसैगरी मालिका गाउँपालिका–५ देवीस्थानकी ३५ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको छ । उपचारका लागि असोज १५ गते पोखरा गएकी देवीस्थानकी महिलाको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।


संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई बेनीको टुँडिखेलस्थित आइसोलेसनमा सार्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



समुदायमा फैलिएको आशङ्का

देवीस्थानकी महिला उपचारको लागि भन्दै असोज १५ गते पोखरा पुगिन् । यसक्रममा उनी विभिन्न अस्पताल गइन् । तर, रोगको परीक्षण गर्दै जाँदा उनलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । यो घटनाबाट अरु नै रोगको उपचार गर्न गएकी महिलालाई कसरी कोरोना भाइरस स¥यो ? भन्ने प्रश्न उब्जिएको छ । यसले आम म्याग्देली र तिनका आफन्तमा एकखाले आशंका र डर जन्माएको छः कतै सङ्क्रमण समुदायस्तरमा फैलिएको त छैन ? 



म्याग्दीबासीको शंकालाई बल दिने गरी स्वास्थ्य कार्यालय, म्याग्दीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म्याग्दी जिल्लामा हालसम्म बाहिरबाट आएका व्यक्तिहरुमा मात्रै कोरोनाको संक्रमण देखिने गरेकोमा अब जिल्लाभित्रबट बाहिर गएको व्यक्तिमा समेत कोरोनाको संक्रमण पुष्टि भएकाले सम्पूर्ण म्याग्दीबासी महानुभावहरुमा अतिजरुरी कामबाहेक बाहिरी जिल्लाको भ्रमणमा नगइदिनु हुन बाहिरी जिल्लाबाट आउनेहरु पनि अनिवार्यरुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्दछौं ।’



कोरोनाको संक्रमण बढ्दै गर्दा सदरमुकाम बेनीबजारमा भने दशैंको किनमेल गर्नेको घुइँचो ह्वात्तै बढेको छ । यसले महामारी फैलिन सहयोग पुग्ने भन्दै सर्वसाधारण चिन्तित छन् । 


डिसिसिएमसी म्याग्दीका सदस्य सुरज केसीले म्याग्दीमा अहिलेसम्म कोरोना समुदायस्तरमा फैलिएको प्रमाणित नभए पनि जनस्तरबाट लापरवाही भए दशैंका बेला विकराल समस्या आउन सक्ने चेतावनी दिएका छन् ।


म्याग्दीमा हालसम्म ६३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५१ जना निको भएर घर फर्किसकेका छन् । 


×
Berita Terbaru Update