बेनी
असोज १५
मल्लाजका शङ्करदास वैरागीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
![]() |
| मुख्यसचिव शङ्करदास वैरागी |
३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउन लागेका मुख्य सचिव लोकदर्शन रेग्मीले दुई साताअघि नै राजीनामा दिएपछि सरकारले पर्वतको जलजला–२ मल्लाजका वैरागीलाई मुख्य सचिव बनाएको हो ।
परराष्ट्र सेवामा प्रवेश गरेर निरन्तर त्यही सेवामा काम गर्दै सचिव भएर मुख्यसचिवमा बढुवा हुने वैरागी पहिलो हुन् । विगत ७० वर्षको इतिहासमा परराष्ट्र सेवाबाट मुख्यसचिव हुने पहिलो व्यक्ति पनि वैरागी नै बनेका छन् ।
वैरागी सन् १९८७ मा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । मल्लाजस्थित विद्याज्योति माध्यमिक विद्यालयमा अध्ययन गरेका वैरागीले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र ब्रसेल्सको फ्री विश्वविद्यालयबाट विकासमा स्नातकोत्तर गरेका छन् ।
शिक्षण पेशाबाट जागिरे जीवन शुरु गरेका वैरागीले निजामति सेवातर्फ भने खरदार पदबाट प्रवेश गरेको बताइएको छ ।
