Notification

×

Iklan

Iklan

१२ कक्षाको परीक्षामा ‘हेल्थ डेस्क’ अनिवार्य

Tuesday, October 27, 2020 | October 27, 2020 WIB Last Updated 2021-12-30T03:25:56Z

 

बेनी

कात्तिक ११


आगामी मंसिर ९ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षामा अनिवार्यरुपमा ‘हेल्थ डेस्क’ स्थापना गर्नुपर्ने भएको छ । परीक्षार्थीलाई कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगाउन प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्नैैपर्ने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।




माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ, संस्थासँग समन्वय गरी स्वास्थ्य सहायता कक्षको व्यवस्था गर्नुपर्नेछ । यसपटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको छ ।


निर्देशिका अनुसार परीक्षार्थीहरू बीच कम्तिमा दुई–दुई मिटरको दुरी कायम गर्नुपर्नेछ । त्यसैगरी एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी राख्न पाइनेछैन ।


राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले कोरोना सङ्क्रमित विद्यार्थीका लागि परीक्षण रिपोर्ट नेगेटिभ आएपछि परीक्षाको छुट्टै व्यवस्था गरिने जानकारी दिएका छन् । 


‘कोभिड–१९’ ले सिर्जना गरेको परिस्थितिका कारण बोर्डले यसपटक कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको मात्र परीक्षा सञ्चालन गर्न लागेको छ । बाँकी ६० प्रतिशतमध्ये विद्यार्थीले ११ कक्षामा प्राप्त गरेको अङ्कबाट ४० तथा विद्यालयको आन्तरिक मूल्याङ्कनबाट २० प्रतिशत जोडिनेछ ।


कक्षा १२ को परीक्षामा सामेल हुन यस वर्ष ४ लाख ३२ हजार विद्यार्थीले आवेदन भरेका छन् ।



×
Berita Terbaru Update