बेनी
कात्तिक ११
म्याग्दीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिकाले सम्भावित सङ्क्रमितको पहिचान गर्न पिसिआर परीक्षणको दर बढाउने भएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेपछि मङ्गलबारदेखि समुदायस्तरमा कोरोना परीक्षण गर्न थालिएको हो ।
सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको बताइएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सुविधा लिन अपिल गरे । कोरोनाको महामारीलाई जतिसक्दो रोकथाम गर्नु उपयुक्त हुने बताउँदै अध्यक्ष मल्लले अभियानलाई समुदायस्तरमा लैजाने गरी तयारी भएको बताएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले मङ्गलबार बिहान १० बजे पर्वतको मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब सङ्कलन शुरु गरेको जानकारी दिए ।
अधिकृत शर्माका अनुसार अभियानका क्रममा हरेक घरमा एक जनाको स्वाब सङ्कलन गरिनेछ तर, सङ्क्रमितको परिवारमा भने सबै सदस्यको स्वाब सङ्कलन हुनेछ । जलजला गाउाँपालिकाले यसअघि करिब पाँच सय जनाको पिसिआर परीक्षण गरेको बताइएको छ ।
