बेनी
असोज २३
सकृय कोरोना सङ्क्रमितको संख्या १ लाख पुग्न थालेसँगै यसको रोकथामका लागि सरकारले जनता गुहार्न थालेको छ । नेपालको कमजोर स्वास्थ्य–प्रणाली, संक्रमितको बढ्दो संख्या र नजिकिँदो चाडपर्वलाई लक्षित गरी सरकारले सर्वसाधारण नागरिकलाई कोरोना रोकथाममा सघाउन अनुरोध गरेको हो । सरकारले कसरी जनता गुहार्दैछ भन्ने केही उदाहरण यस्ता छन्ः
असोज १८ गतेको नियमित पत्रकार भेटघाटमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘आफू बसेकै ठाउँमा दशैं मनाउन’ आग्रह गरे । दशैंका बेला स्वदेश तथा विदेशबाट समेत नेपालीहरु गाउँघर फर्किने र त्यसबाट भाइरसको संक्रमण बढ्ने खतरालाई मध्यनजर गर्दै सरकारले यस्तो आग्रह गरेको थियो।
![]() |
फाइल तस्विर |
यस्तै असोज २१ गतेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता गौतमले ‘यही गतिमा कोरोना संक्रमित बढ्दै गए काठमाडौंका अस्पतालले धान्न नसक्ने’ धारणा राखे । त्यसो त जनस्वास्थ्यका विज्ञहरुले पनि यही गतिमा संक्रमित बढ्ने हो भने दशैं तिहारको बीचमा स्थिति विकराल बन्न सक्ने चेतावनी दिँदै आएका छन् ।
उता, मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले ‘अब कुनै हालतमा देशव्यापी लकडाउन नहुने’ तर, ‘जनताले पनि अनावश्यक भिडभाड हुने गरी क्रियाकलाप नगरिदिन’ आग्रह गरे ।
असोज २२ गतेको नियमित पत्रकार भेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले ‘दशैंमा मन्दिरमा भिडभाड कम गर्न, पुजारीहरुमात्र उपस्थित भई नित्यपूजा गर्ने व्यवस्था मिलाउन आग्रह गरे । यतिमात्र होइन उनले ‘यसपालिको दशैंमा सार्वजनिक ठाउँमा पिङ नहाल्न समेत अनुरोध गरे । ‘मन्दिरमा नित्यपूजा गरौं’, पत्रकार भेटघाटमा गौतमले भने, ‘सार्वजनिक ठाउँमा लिङ्गे र रोटे पिङ हाल्ने काम नगरौं ।’ संक्रमणको जोखिमबाट बच्न चाडपर्वको बेलामा सकेसम्म अनलाइनबाट सामान खरिद गर्न र कम्तीमा एक हप्ताका लागि सामग्री किन्न पनि गौतमले आग्रह गरे ।
यसैगरी सरकारले व्यापारीहरुलाई पनि सबेरैदेखि बेलुकी अबेरसम्म पसल खुल्ला गर्न अनुरोध गर्दै ‘यसले सेवाग्राहीलाई फरक फरक समयमा आएर सामान किन्न सहयोग पुग्ने’ बताएको छ ।
कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणमा सर्वसाधारण नागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै मन्त्रालयका प्रवक्ताले भने, “आआफ्नो क्षेत्रबाट सबैले सहयोग नगरे सरकारले मात्रै महामारी नियन्त्रण गर्न सक्दैन।”
केही दिनयताका सरकारी निर्णय तथा स्वास्थ्य मन्त्रालयका विज्ञप्ति र अनुरोध हेर्दा सरकार जनतासँग हारगुहार गर्नुपर्ने अवस्थामा पुगेको बुझ्न गाह्रो छैन । हुन पनि नेपालको कमजोर स्वास्थ्य–प्रणाली, प्रक्रियागत प्रशासन र स्वास्थ्य क्षेत्रमा पकड जमाएका बिचौलियाहरुको दुष्चक्र त्यति सजिलै चिर्न सकिने किसिमको छैन । यस्तो परिस्थितिमा मानिसको भिडभाड बढाउने ठूला चाडपर्व शुरु भएपछि सरकारले जनतालाई ‘तिम्रो स्वास्थ्य तिम्रै हातमा’ शैलीमा नयाँ नयाँ किसिमका अनुरोध गर्न थालेको छ ।
अब
सरकारको अनुरोधलाई गम्भीर भई सुन्ने कि बेवास्ता गर्ने भन्ने जनता जनार्दनकै हातमा छ ।