बेनी
कात्तिक १२
म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित विद्यालयहरुले ११ कक्षाको आंशिक तथा ग्रेडवृद्धि परीक्षाको सूचना प्रकाशन गर्न थालेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, क्षेत्रीय कार्यालय, पोखराले मंसिर ८ गतेभित्र ११ कक्षाको आंशिक तथा ग्रेडवृद्धि परीक्षा सक्न ताकेता गरेपछि यस्तो तयारी भएको हो ।
![]() |
| फाइल तस्विर |
बेनीस्थित माउण्ट एभरेष्ट आवासीय मावि र प्रकाश माविले कात्तिकको २३ गतेदेखि आंशिक परीक्षा सञ्चालन गर्नेगरी समयतालिका प्रकाशन गरिसकेका छन् भने म्याग्दी बहुमुखी क्याम्पस, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि र बेनी सामुदायिक माविले पनि यसबारे छलफल भैरहेको जानकारी दिएका छन् ।
माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसीले विद्यार्थीलाई तयारीमा सहयोग होस् भनेर दशैंअघि नै सूचना जारी गरिएको जानकारी दिए ।
त्यसैगरी प्रकाश माविले पनि कात्तिक २३ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको छ । विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले ११ कक्षाको ग्रेडवृद्धि र आंशिक परीक्षाको लागि सूचना प्रकाशन भएको जानकारी दिए । “यो सूचना आंशिक तथा ग्रेडवृद्धि परीक्षामा सामेल हुने विद्यार्थीका लागि हो । कक्षा १२ को परीक्षाभन्दा अगाडि नै आंशिक र ग्रेडवृद्धि परीक्षा लिइसक्न निर्देशन आएकोले सूचना जारी गरेका छौं ।”
म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीले ११ कक्षाको परीक्षासम्बन्धमा दशैंअगाडि नै छलफल भैसकेको जानकारी दिए । “हामी तिहारअघि नै ग्रेडवृद्धि परीक्षा सक्ने गरी तयारी गर्दैछौं,” क्याम्पसप्रमुख जिसीले भने ।
बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले विद्यार्थीहरुसँग नियमित सम्पर्क रहेको र ग्रेडवृद्धि परीक्षाबारे छिट्टै निर्णय लिइने जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न सकिने बताएका छन् । “मुख्य कुरा कोभिड–१९ को जोखिमबाट जोगिएर कसरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने भन्ने हो,” इकाई प्रमुख थापाले भने, “यसमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अघि बढ्नु उपयुक्त हुन्छ ।”
कक्षा १२ को परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरिसकेको अवस्थामा स्वास्थ्य मापदण्ड पूरा गरी ११ कक्षाको परीक्षा पनि सञ्चालन गर्न सकिने थापाको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयले नै कक्षा ११ को परीक्षा सञ्चालन गर्न सक्ने गरी यसअघि नै बाटो खोलिदिएको थियो । तर, कोरोना महामारीको बढ्दो जोखिमका कारण परीक्षा हुन सकेको थिएन ।
‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ, संस्थासँग समन्वय गरी परीक्षा सञ्चालन गर्न सक्ने बाटो खोलिसकेको छ ।
कार्यविधिमा परीक्षा केन्द्रमा अनिवार्यरुपमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्नुपर्ने, परीक्षार्थीहरुलाई दुई–दुई मिटरको दुरीमा राख्नुपर्ने र परीक्षा सञ्चालन तथा प्रमाणीकरण समिति गठन गर्नुपर्ने लगायतका व्यवस्था छन् ।


