Notification

×

Iklan

Iklan

म्याग्दी प्रहरीले मनायो ६५औं वर्षगाँठ

Friday, October 16, 2020 | October 16, 2020 WIB Last Updated 2021-12-30T03:26:10Z

 बेनी

असोज ३०



जिल्ला प्रहरी कार्यालय, म्याग्दीले सङ्गठनको ६५औं वर्षदिवस मनाएको छ । शुक्रबार कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच प्रहरीले वार्षिकोत्सव मनाएको हो ।




समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कानुनमा निर्देशित जिम्मेवारी पूरा गर्दै आएको प्रहरी सङ्गठनलाई उच्च मनोबल र थप व्यावसायिक सफलताको लागि शुभकामना दिए ।



 ‘सर्वसाधारण नागरिकले देख्ने एउटा प्रहरी व्यक्ति नभई त्यो सङ्गठनको पहिचान, विश्वास र भरोसा’ भएको भन्दै प्रजिअ अधिकारीले उच्च आचरण र मनोबलसहित अघि बढ्न अनुरोध गरे ।


सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव गोरखनाथ सुवेदीले जनताको जिउधनको सुरक्षाका लागि खटिने प्रहरीलाई सञ्चारजगत्ले पनि सक्दो सहयोग गरिआएको स्मरण गरे । कोरोना महामारीका बेला प्रहरी संगठनले खेलेको भूमिकाको प्रशंसा गर्दै सचिव सुवेदीले यसमा सामाजिक संघसंस्थाहरुले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।



कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी सीमित उपस्थितिमा आयोजित कार्यक्रममा जग्गादाता, विपद् व्यवस्थापन, कोरोना न्युनीकरण तथा सामाजिक विकृति रोक्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।



यसक्रममा रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा प्रहरी कार्यालय बनाउन निशूल्क जग्गा उपलब्ध गराउने तारानाथ शर्मा र वीरबहादुर विश्वकर्मालाई प्रशंसापत्रले सम्मान गरिएको थियो । 



त्यसैगरी जिल्लामा कोरोना महामारी रोकथाममा सकृय रहेको भन्दै नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री एवं पत्रकार महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष सुरज केसी, म्याग्दीको प्रकोपपीडितको उद्धार र पुनर्स्थापनामा सहयोग गरेको भन्दै निर्माण व्यवसायी नारायण जिसी, बेनी–जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिङ शेरचन, अलपत्र यात्रुको उद्धारमा खटिएका अन्नपूर्ण गाउँपालिका–५ शिखका कृष्ण थजाली र सुपिन पुर्जा, सामाजिक विकृति रोक्न लागिपरेका नेपाल युथ काउन्सिलका अध्यक्ष छवि आचार्य र स्वयंसेवक हरि कँडेललाई पनि कदरपत्रले सम्मान गरिएको थियो ।



दिवसको अवसरमा उत्कृष्ट प्रहरी कर्मचारीहरु पनि पुरस्कृत भएका छन् । 



पुरस्कृत भएकामा प्रहरी नायव निरीक्षक चेतनाथ चपाइँ, रघुनाथ जैसी, तिलक मानन्धर, रामु थकाली, प्रहरी हवल्दार भीमबहादुर छन्त्याल, पदमबहादुर थापा, प्रहरी जवान देवान थापा, प्रकाश तिमिल्सिना, उज्ज्वल पौडेल, शिव श्रेष्ठ, शर्मिला बुढामगर र कार्यालय सहयोगी चाउरे बुढा रहेका छन् ।

 




राष्ट्रगान र अमर प्रहरीप्रति सम्मान व्यक्त गरिएको कार्यक्रममा सहभागीहरुको स्वागत गर्दै प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले प्रहरीले विभिन्न नाउँ र स्वरुपमा किराँतकालदेखि नै जनताको सुरक्षा गर्दै आएको बताएका थिए ।




कार्यक्रमको समापनका अवसरमा बोल्दै प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवरले विषम परिस्थितिमा दिवस मनाउन लागिएको हुँदा सबैलाई आमन्त्रण गर्न नसकिएको बताए । “नेपालको सामाजिक परिवर्तनलाई व्यवस्थित गर्नमा प्रहरीको भूमिका रहिआएको हामी सबैले बुझेका छौं’, कुँवरले भने, “त्यसैले प्रहरीको कामलाई विचरा भनेर होइन शौर्यगाथाका रुपमा चर्चा गरिनु आवश्यक छ ।”



दिवसका अवसरमा बर्दी लगाएका र बर्दीविनाका प्रहरीलाई सम्मान गर्ने अवसर पाएको उल्लेख गर्दै कुँवरले आगामी दिनमा प्रहरी थप व्यासायिक र जनमैत्री बन्दै जाने प्रतिबद्धता जनाए ।


कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, श्रीबक्स गुल्मका सेनानी रोशन थापा, सशस्त्र प्रहरी बल म्याग्दीका प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक ध्रुवराज शर्माले गरेका थिए ।


वि.सं. २०१२ साल असोज ३० गते स्थापना भएको नेपाल प्रहरीले शुक्रबार स्थापनाको ६४ वर्ष पूरा गरी ६५औं वर्षमा प्रवेश गरेको छ ।


×
Berita Terbaru Update