बेनी
असोज ३०
पछिल्लो २४ घण्टाको अवधिमा म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अन्नपूर्ण गाउँपालिका–५ का ४४ वर्षीय पुरुष भाइरसबाट सङ्क्रमित भएका हुन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएका हो ।
म्याग्दीसहित गण्डकी प्रदेशभर थपिएका ३० जना सङ्क्रमितलाई पोखरामा बनाइएको आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।
यसैबीच छिमेकी जिल्ला बागलुङका २५ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–७ का ती पुरुषको गए राति मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्तीअनुसार ती युवा उपचारका लागि असोज २५ गते अस्पतालमा भर्ना भएका थिए ।