Notification

×

Iklan

Iklan

मृत्युको जानकारी

Friday, October 16, 2020 | October 16, 2020 WIB Last Updated 2021-12-30T03:26:10Z





साहित्य


कुनै गाउँमा एक जना सिद्ध महात्मा बस्थे । ती महात्माले पशुवाक्यसमेत बुझ्थे भन्ने भनाइ थियो । महात्माकहाँ पशुवाक्य सिक्नका लागि कैयौं व्यक्तिहरु आउँथे । महात्माले भने कसैलाई पनि सिकाउँदैन थिए । 


एकपटक उनको कुटीमा लोभी शिष्य पुग्यो । उसले महात्माको तन, मनले दिनरात सेवा ग¥यो । महात्माले जहिले पनि भन्थे, “बाबु, तिमी यति धेरै मिहिनेतका साथ मेरो सेवा गरिरहेका छौ । भन तिमीलाई के चाहियो ? मलाई खुलेरै भन।”


हरेक पटक महात्माले सोध्दा त्यो शिष्यले भन्थ्यो, “गुरु मलाई केही चाहिँदैन । मलाई त तपाईंको आशीर्वाद मात्र चाहिन्छ । तपाईंको छत्रछायाँमा बस्न चाहन्छु ।”


शिष्यले दुई वर्षभन्दा बढी मिहिनेत गरिसकेको थियो । यति मिहिनेत गरेको देखेर एक दिन पुनः महात्माले सोधे, “बाबु, तिम्रो मिहिनेतबाट म ज्यादै प्रसन्न भएँ । भन तिमीलाई के चाहिन्छ ।”


यसपटकचाहिँ शिष्यले आफुलाई रोक्न सकेन । उसले भन्यो, “महात्मा मलाई अरु केही चाहिँदैन । तपाईंजस्तै पशुवाक्य बुझ्ने बनाइदिनुहोस् ।”


महात्माले भने, “बाबु, यो भन्दा बाहेक जे चाहिन्छ माग ।”


शिष्य आफ्नो मागबाट टसको मस भएन । भन्यो, “तपाईं मलाई दिन चाहनुहुन्छ भने त्यो ज्ञान दिनुस् । नभए मलाई केही पनि चाहिँदैन ।”


महात्मा अब विवश भए । आफ्नो रहस्यमय कला सिकाउन बाध्य भए ।


पशुवाक्य बुझ्ने कला सिकेपछि शिष्यले महात्मासँग घर जाने अनुमति माग्यो । घर जाने बेलामा महात्माले भने, “बाबु तिमीलाई मैले जे सिकाएँ त्यो भुलेर पनि प्रयोग नगर्नू । प्रयोग ग¥यौ भने तिमीलाई कुनै किसिमको पनि सहयोग गर्न सक्दिन ।”


“गुरुज्यू, म तपाईंको रहस्य भुलेर पनि प्रयोग गर्दिन,” शिष्यले आश्वासन दिँदै घर फर्कियो । 


शिष्य रोमान्समा थियो । ऊ वरिपरिका चराचुरुङ्गी र जनावरले बोलेको बुझ्थ्यो । तिनका कुरा सुनेर र बुझेर फुरुङ्ग हुन्थ्यो ।


एकदिन ऊ गोठालो गएका बेला अचानक उसको गाइले आफ्ना बाच्छाबाच्छीलाई भनेको सुन्यो, “मेरो दश दिनपछि मृत्यु हुँदैछ । तिमीहरु शोक नमनाउनू ।”


यो सुनेर शिष्य गम्न थाल्यो । उसले चाँडै नै एकजना ग्राहक खोजेर चल्तीको दामभन्दा थोरै मूल्यमा गाई बेचिदियो । गाई दश दिनमै म¥यो । यो थाहा पाएपछि आफुले पाएको ज्ञानमा ऊ पक्का भयो । उसको काम नै अब पशुपंक्षी र जनावरका कुरा ध्यानपूर्वक सुन्नु हुन्थ्यो । आफ्ना चौपाया र पशुपंक्षीमध्ये जुनको पनि मृत्यु हुने कुरा थाहा पाउँथ्यो, तुरुन्त बेच्थ्यो ।


एकदिन ऊ आफ्नो आँगनमा सुस्ताइरहेका बेला कुकुरले सुगासँग कुरा गरेको सुन्यो । कुकुरले सुगालाई भन्दै थियो, “अबको पन्ध्र दिनमा हाम्रो मालिकको देहान्त हुनेछ ।”


यो सुनेर शिष्यको दिमाग सन्न भयो । यी दुईको कुरालाई अविश्वास गर्नुको कुनै तुक थिएन, किनभने यसअघि जनावरबीचको संवाद उसले बुझेकै हो । त्यसबाट फाइदा लिएकै हो ।


आफ्नो मृत्यु यति चाँडो आएको सुनेपछि हतारिँदै ऊ महात्माकहाँ पुग्यो । उसले महात्मासँग भन्यो, “मलाई बचाउनु प¥यो । मैले पालेका कुकुर र सुगाले आपसमा म मर्ने कुरा गर्दै थिए । मलाई जसोगरी भए पनि मृत्युबाट जोगाउनु प¥यो ।”


महात्माले सबै कुरा सुनेपछि भने, “बाबु, तिमीले विधिको विधानलाई शिर झुकाएर स्वीकार गर्नुबाहेक अरु उपाय छैन । जुन बेला तिमीले गाईको मृत्युको अग्रिम जानकारी भएको थियो र त्यो जानकारी पाएलगत्तै मकहाँ आएर बताएको भए, शायद केही गर्थें होला । अब तिमीले यो कलाको पूरा फाइदा उठाइसकेका छौ । फाइदापछिको अन्तिम परिणाम तिमीले अब भोग्नैपर्छ ।”



जेन कथा के हुन् भन्नेबारे बौद्ध सम्प्रदायका जानकारहरुले सजिलै बताउन सक्छन् । भारतबाट चीन पुगेका बौद्धगुरु बोधिधर्मलाई जेनका पिता मानिन्छ । ‘ध्यान’ लिएर चीन पुगेका बोधिधर्मको  ‘ध्यान’ चीन पुगेर ‘चान’ बन्यो । त्यही चान बाह्रौं शताब्दीमा जापान पुगेर ‘जेन’ को रुपमा फक्रिएको हो । ‘जेन’ कुनै सम्प्रदायभन्दा बढी अनुभव हो । सयौं वर्षदेखि सुनिँदै र सुनाइँदै आएका जेन कथाहरुले आफ्नो परम्पराको तिख्खर अनिव प्राकृतिक स्वाद पस्किने क्षमता राख्छन् ।

 


२०७७ कात्तिक १ गते


×
Berita Terbaru Update