Notification

×

Iklan

Iklan

भारतका सेनाप्रमुख अर्को साता नेपाल आउँदै

Tuesday, October 27, 2020 | October 27, 2020 WIB Last Updated 2021-12-30T03:25:55Z


बेनी

कात्तिक १२


नेपालका बारेमा विवादास्पद बयान दिएका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवाणे अर्को साता नेपाल आउने भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको विज्ञप्ति अनुसार सेनाध्यक्ष नरवाणे यही कात्तिक १९ गते नेपाल आउन लागेका हुन् । विज्ञप्ति अनुसार चार सदस्यीय भ्रमण दलका साथ आउने उनी तीन दिन नेपाल बस्नेछन् ।




नेपाल भ्रमणका क्रममा नरवाणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी नेपालका सेनापति महारथी पूर्णचन्द्र थापासँग छलफल गर्ने बताइएको छ । 


नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल नरवाणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।


यस्तै, भारतीय सेनाध्यक्षले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।


नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि जमिनमाथि दावी गर्नुका पछाडि ‘अरु कसैले उक्साएको’ आरोप लगाएपछि नरवाणे विवादमा मुछिएका थिए । एउटा सिपाहीले राजनीतिक विषयमा टिप्पणी गरेको भनी आलोचना बढ्दै गएपछि नरवाणेले आफुले नेपालीहरुको मन दुखाउन नखोजेको भन्दै आफ्नो भनाइ सच्च्याएका थिए ।


अघिल्लो साता नेपाल आएका भारतको खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलको भ्रमण आफ्ना सेनाध्यक्षको नेपाल भ्रमण सौहार्दपूर्ण बनाउने उद्देश्यबाट प्रेरित भएको बताइन्छ ।



×
Berita Terbaru Update