Notification

×

Iklan

Iklan

सजग रहौं, जिम्मेवार बनौं

Thursday, October 22, 2020 | October 22, 2020 WIB Last Updated 2021-12-30T03:26:01Z


सम्पादकीय


यस वर्षको बडादशैंअन्तर्गत आज फुलपाती भित्र्याउने दिन । तर, कोरोना भाइरसजन्य महामारीका कारण यो दशैं विगतका जस्तो छैन । खासगरी दशैंलाई हर्ष र उल्लासका साथ मनाउने हिन्दू धर्मावलम्बीहरु यसपटक आआफ्नै घरमा सीमित हुनुपर्ने अवस्था आएको छ । नेपाल सरकारले यस वर्षको बडादशैं सकेसम्म आफू बसेकै ठाउँमा मनाउन अनुरोध गरेको छ । सङ्क्रमणको जोखिमकै कारण राष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तित्वहरुले यस वर्ष आफन्त, समर्थक वा शुभेच्छुकहरुलाई टिका नलगाउने घोषणा गरिसकेका छन् । विगतमा मानिसको घुइँचो लाग्ने शक्तिपीठहरु सुनसान छन् भने रोटेपिङ, लिङ्गेपिङ, मेला जात्रा र मानिसका भिडभाड बढी हुने कार्यक्रम नगर्न प्रशासनले उर्दी जारी गरेको छ । यी सबै परिदृश्यले यस वर्षको बडादशैंमा सबै सचेत र सतर्क हुनुपर्ने सङ्केत गर्छन् ।



कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै नेपाल सरकारले गत चैतमा शुरु गरेको बन्दाबन्दी (लकडाउन) साउन ६ गते खोल्यो । त्यतिबेला नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या १७ हजार थियो भने सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४६ मात्रै थियो । चैतदेखि साउनसम्म घरभित्रै थुनिनुपरेका सर्वसाधारण आर्थिक गतिविधिमा संलग्न हुन पाइने आशामा उत्साहित पनि भए । तर, बन्दाबन्दी खुलेपछिको ३ महिनाको अवधिलाई नियाल्ने हो भने सङ्क्रमण घटेको होइन उच्च गतिमा बढ्दो छ । बुधबार (कात्तिक ५) सम्मको आँकडा हेर्ने हो भने नेपालमा सङ्क्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ भने सकृय सङ्क्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ । विज्ञहरुको भनाइअनुसार यही अनुपातमा सङ्क्रमण फैलिने हो भने अबको केही साताभित्रै नेपालको स्वास्थ्य–प्रणालीले कोरोना महामारीको वेगलाई थाम्न सक्नेछैन । विकसित देशहरुको स्वास्थ्य प्रणालीले काम गर्न नसकेको अहिलेको अवस्थामा नेपालले धेरै अपेक्षा गर्नु नै गलत हुने विज्ञहरुको भनाइ छ । बढ्दो ‘कोरोना–ग्राफ, नजिकिँदा ठूला पर्वहरु र त्यसले ल्याउन सक्ने सम्भावित जोखिमका बारेमा अहिले अनुमान मात्रै गर्न सक्ने अवस्था छ । 


बालबालिकाका लागि दशैंमा पिङ खेल्ने, चङ्गा उडाउने, नयाँ कपडा लगाउने, टाढा रहेका आफन्त भेट्ने कुरा निकै महत्वपूर्ण हुन्छन् । त्यसमाथि मान्यजनबाट दशैंको टीका थाप्ने प्रचलनले नेपाली समाजलाई निकै चलायमान गराउँदै आएको छ । नेपाली भूगोल, पर्यावरण र संस्कृतिअनुसार पनि दशैंतिहारको मौसम घुमफिर गर्ने समयका रुपमा चिनिन्छ । दशैंतिहारको बहानामै किन नहोस्, पछिल्लो केही दशकयता नेपालीहरुमा पनि घुमफिरको संस्कृति बढ्दो छ । तर, यस वर्षको परिस्थिति फरक छ । बालबालिकादेखि वृद्धवृद्धा कसैले पनि आफुले चाहेजसरी निष्फिक्री तरिकाले घुम्ने, जमघटमा रमाउने अवस्था यसपटक छैन । यस्तो बेला अभिभावकले पनि दशैंमा आफ्ना बालबच्चाहरुलार्ई कोरोनाले सिर्जना गर्ने सम्भावित जोखिमबारे बुझाउनुपर्छ । धेरै समयको अन्तरालमा विदेश वा स्वदेशका शहरबाट गाउँ छिरेका छोराछोरी र नातिनातिनाको आग्रहलाई टार्न नसक्ने वृद्धवृद्धाहरुका लागि टीका र आशीर्वाद दिनु आफ्नै लागि महङ्गो पर्न सक्छ । कुनै न कुनै औषधिको भरमा आफुलाई बचाइरहेका वृद्धवृद्धालाई यदि हामीले भवनात्मक अतिक्रमण (इमोशनल ब्ल्याकमेलिङ) मार्फत् टिका लगाउन बाध्य पार्ने हो भने त्यो आशीर्वाद नभई अभिशाप बन्ने जोखिम उच्च छ । यसरी हेर्दा यस वर्षको दशैंलाई सकेसम्म एकल परिवारमै सीमित गरी मनाउनु उपयुक्त देखिन्छ ।


जुनसुकै धर्मशास्त्र र आचारशास्त्रले पनि स्वस्थ शरीरको आवश्यकतामा जोड दिएका छन् । यदि शरीर स्वस्थ छ भने धनसम्पति, मानप्रतिष्ठा प्राप्त गर्न सकिन्छ । तर, शरीर नै रहेन भने सबै कुरा सिद्धिन्छ । त्यसैले जुनसुकै उपाय लगाएर भए पनि शरीरलाई स्वस्थ राख्नुपर्छ भन्ने शास्त्रीय निचोड देखिन्छ । विश्व नै कोरोना महामारीको चपेटामा परिरहेको अहिलेको स्थितिमा हामीले प्रदर्शन गर्ने अबुझ व्यवहार अन्ततः परिवार, समाज वा देशकै लागि अभिशाप बन्न सक्छ । यसप्रति सबै सचेत हुन आवश्यक छ । 


‘म कसैका घर जान्न, मेरो घरमा पनि कोही नआउनुहोला । मैले लिने र दिने आशीर्वाद भावनात्मक वा विद्युतीय माध्यमबाट लेनदेन गर्नेछु ।’ हामीले यस्तो अठोट गरी अरुलाई पनि यसमा सहमत गरायौं भने परिवार र समाजप्रतिको ठूलो उत्तरदायित्व पूरा हुनेछ । 

त्यसैले सजग रहौं । कोरोना रोकथाममा सहयोग गरी जिम्मेवार नागरिकको परिचय दिऔं ।



कात्तिक ७, २०७७


×
Berita Terbaru Update