बेनी
कात्तिक १०
आज आश्विन शुक्ल पक्षको दशमी अर्थात् बडादशैं । नवदुर्गाको प्रसादका रुपमा मान्यजनको हातबाट टीका र जमरा लगाए मनाइँदैछ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिनछ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । देवी विसर्जनपश्चात् प्रसादस्वरुप टीका र जमरा ग्रहण गरिन्छ ।
सर्वसाधारणले टीका र जमरा ग्रहण गर्नचाहिँ १० बजेर १९ मिनेटमा उत्तम साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।
विजयादशमी आफैंंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि अध्यक्ष गौतमको भनाइ छ । राज्यका विशिष्ट ओहोदामा रहेकाहरुले भने शुभसाइतमै टीका लगाउनुपर्ने बताउँदै उनले भने, “राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभशक्तिु, मन्त्रशक्ति, र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन छ । त्यसैले साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ।”
त्यसैगरी आज विजयादशमीको दिन । चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्किनु उत्तम हुन्छ । तर, टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताए ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने प्रचलन छ ।
गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
