बेनी
कात्तिक ३
सदरमुकाम बेनीमा लागू औषधसहित एक जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गणेशटोल बस्दै आएका २९ वर्षीय विमल भण्डारीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए ।
बेनी बजारमा लागूऔषधको सेवन र बिक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले भण्डारीको घरमा खातलासी गर्दा विभिन्न किसिमका लागूऔषध फेला परेको प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रहरीका अनुसार भण्डारीले आफु सुत्ने कोठामा कोटको कभरभित्र लुकाइराखेको अवस्थामा डाइजेपाम (३० एम्पुल), फेनरागन(३१ एम्पुल) र नुर्फिन (३० एम्पुल) गरी जम्मा ९१ एम्पुल लागूऔषध, ६ थान सिरिन्ज र नगद समेत बरामद गरेको हो ।
पक्राउ परेका युवालाई हाल प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ ।