बेनी
असोज ३०
बेनी अस्पतालले अति आवश्यक काम नपरी अस्पताल नआउन सबैलाई अनुरोध गरेको छ । उपचारका लागि अस्पताल आएका दुई जनामा कोरोना संक्रमण देखिएपछि बिहीबार विज्ञप्तिमार्फत् यस्तो आग्रह गरिएको हो ।
![]() |
फाइल तस्बिर |
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमृत अधिकारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस अस्पतालको नियमित सेवाहरु यथावत् रुपमा सञ्चालन हुन्छन् । तर, अति आवश्यक नपर्दासम्म केही दिनका लागि अस्पताल नआइदिनु हुन सम्पूर्ण सेवाग्राहीहरुलाई अनुरोध छ ।”
यही असोज २६ गते संक्रमणको लक्षणसहित उपचारका लागि आएका रघुगङ्गा हाइड्रोमा कार्यरत एक जना र सोही दिन उपचारका लागि अस्पताल आएका जलजला–३ पर्वत बेनीका गरी दुई जना कोरोना संक्रमित भएपछि अस्पतालले यस्तो आग्रह गरेको हो ।
उपचारका लागि आएका व्यक्तिमा संक्रमण देखिएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पतालकै होम आइसोलेसनमा राखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले परिस्थिति बुझिदिन सबैलाई अनुरोध गरिएको बताए । “संक्रमणबाट जोगिन सरकार, सुरक्षा, स्वास्थ्य संघसंस्थालगायत सञ्चारका माध्यमहरुले बारम्बार अनुरोध गर्नुभएकै छ,” कटुवालले भने, “अब यसबारे गम्भीर भएर सोच्ने जिम्मेवारी नागरिकको पनि हो ।”
पिसिआर परीक्षणका पछिल्ला केही नतिजाले म्याग्दीमा पनि संक्रमण समुदाय स्तरमा पुगेको आशङ्का भैरहेका बेला जनताले पनि अनुशासित ढङ्गले दैनिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने अध्यक्ष कटुवालको भनाइ छ ।