बेनी
मङ्सिर १२
म्याग्दीको मङ्गला गाउँपालिकाले शुक्रबार विशेष गाउँसभा सम्पन्न गरेको छ । वातावरणमैत्री विकासमा सघाउने गरी ऐन पारित गर्न उक्त गाउँसभा आयोजना गरिएको हो ।
जथाभावी सडक खनिएका कारण भू–क्षय लगायतका समस्या बढ्न थालेपछि गाउँपालिकाले ऐन बनाएरै यसमा अङ्कुश लगाउन खोजेको बताइएको छ ।
गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा शुक्रबार सम्पन्न विशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन’ पारित गरेको हो । अध्यक्ष रोकाद्वारा सभामा प्रस्तुत ऐन सर्वसम्मतरुपमा पारित भएसँगै ऐन कार्यान्वयनमा आएको छ ।
गत भदौमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको पहलमा आयोजित जिल्लाका सरोकारवालाहरुको सर्वपक्षीय बैठकले जथाभावि खनिएका सडकका कारण प्राकृतिक विपत्ति बढेको भन्दै जनधनको क्षति न्यूनीकरण गर्न प्रारम्भीक वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने निर्णय गरेको थियो ।
सर्वपक्षीय बैठकको निर्णय र गाउँपालिकाको वातावरणमैत्री विकासलाई अघि बढाउने नीति कार्यान्वयन गर्न ऐन पारित भएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए । स्थानीय वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न ऐनमा विशेष व्यवस्था गरिएको छ ।
अब गाउँपालिका क्षेत्रभित्र सडकको नयाँ ट्र्याक निर्माण गर्दा प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन, नदिजन्य ढुङ्गागिट्टी लगायतका वातावरणीय स्रोत व्यवस्थापनका क्षेत्रलाई समेत ऐनले समेटेको ढुङ्गानाको भनाइ छ ।