बेनी
मङ्सिर १३
नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गला स्वदेश फर्किएका छन् । बिहीबार बिहान नेपाल आएका शृङ्गला दुई पक्षीय वार्ता, शिष्टाचार भेटघाटलगायतका गतिविधिमा सहभागी भई शुक्रबार फर्किएका हुन् ।
बिहीबार बिहानदेखि शुक्रबार अपराह्नसम्मको औपचारिक यात्रामा शृङ्गलाले समकक्षीसँग औपचारिक वार्ता, राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासँग शिष्टाचार भेट गरेका हुन् । शुक्रबार नेपाली चिन्तन प्रतिष्ठानलाई सम्बोधन गरे, गोर्खामा तीन विद्यालय र मनाङमा बौद्ध गुम्बाको उद्घाटन गरेर शुक्रबार साँझ उनी दिल्ली फर्किएका हुन् ।
शृङ्गलामार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको छिमेक प्रथम नीतिको नेपाल महत्वपूर्ण साझेदार भएको भन्दै मित्रता थप मजबुत बनाउन चाहेको सन्देश पठाएका थिए । त्यसको प्रत्युत्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि इतिहासले बिरासतका रूपमा छाडेका सीमा समस्या समाधान गरेर सम्बन्ध थप सुदृढ बनाउनुपर्ने र सबैखाले समस्या वार्ताको टेबलमा सल्टाउने नेपालको पनि चाहना रहेको नेपालको धारणा राखे ।
नेपालमा परिचयात्मक भ्रमणका क्रममा आएका शृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका तर्फबाट भारत भ्रमणको निमन्त्रणा दिए । मङ्सिर अन्तिम साता दिल्लीमा बस्ने परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जाने गरी तयारी भइरहेको मन्त्रालयस्रोत बताउँछ ।
साथै अगामी डिसेम्बर भारतको नयाँ दिल्लीमा परराष्ट्र मन्त्रीस्तरीय वार्ताको लागि भारतले गरेको आग्रहले पनि भारत आफै नेपालसँग सम्बन्ध सुधार गर्न अग्रसर भएको अनुमान पनि गरिँदैछ । अब मन्त्रीस्तरीय बैठकमा सीमालगायत सुल्झिन बाँकी द्विपक्षीय विषयमा छलफल गर्ने दुई देशको तयारी छ।
यसैबीच भारतीय विदेशसचिव शृङ्गलाले नेपाल र भारत दुवैले भावी पुस्ताप्रति जवाफदेही भएर सशक्त सहकार्यमुखी सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार एआइडिआइए नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित प्रवचनमा दक्षिण एसियामा कुनै पनि मुलुक एक्लै अघि बढ्न नसक्ने भन्दै सुदृढ सहकार्य हुनुपर्ने उनको भनाइ थियो । “हामी भारत र नेपालका भावी पुस्ताप्रति जवाफदेही छौँ । घनिष्ठ मित्रका रूपमा हामीले सँगै काम गर्नु आवश्यक छ,” विदेशसचिव शृङ्गलाले भने, “सशक्त सहकार्यमुखी नेपाल–भारत सम्बन्ध दुवै देशको हितमा छ।”
शृङ्गलाको भ्रमण र त्यसक्रममा भएका छलफल र भेटघाटलाई नेपाल र भारतका बीचमा पछिल्लोपटक देखिएको संवादहीनताको अन्त्य भई राजनीतिक तहमा संवादको ढोका खुलेको अर्थमा लिइएको छ ।