बेनी
वैशाख २१
कोरोना भाइरसको महामारी (कोभिड–१९) को रोकथामका लागि बेनी नगरपालिकामा भोलि रातिदेखि ‘लकडाउन’ हुने भएको छ । आज बिहान बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) म्याग्दीको बैठकले यस्तो निर्णय गरेको हो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले भााख २२ गते मध्यरातबाट शुरू हुने गरी वैशाख ३१ गतेसम्म निषेधाज्ञा (बन्दाबन्दी) लागू गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष प्रकाश पौडेलका अनुसार बेनी नगरपालिकाको आह्वानमा हिजो बसेको सर्वपक्षीय बैठकको सिफारिसलाई आधार मानेर यस्तो निर्णय गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा हिजो बसेको सर्वपक्षीय बैठकले कोरोना महामारीबाट सङ्क्रमण हुनेहरुको संख्या बढ्दै गएको भन्दै अति आवश्यकबाहेकका सबै क्षेत्रमा १० लकडाउन गर्न सिफारिस गरेको थियो ।


