बेनी
कात्तिक २८
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले कोभिड–१९ को महामारीबारे सचेत र सतर्क भई पर्वहरु मनाउन अनुरोध गरेका छन् । महत्वपूर्ण पर्वहरु तिहार, नेपाल संवत् र छठका अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै शेरचनले यस्तो आग्रह गरेका हुन् ।
कोरोना महामारीमाथि विजय प्राप्त गर्न अझै समय लाग्ने देखिएकाले पर्वहरु मनाउँदा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न उनको अनुरोध छ ।
पर्व मनाउनेक्रममा सामाजिक दूरी कायम गर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्ने, अनावश्यक भेटघाट बन्द गर्ने र भिडभाडमा नजानसमेत शेरचनले आग्रह गरेका छन् ।
शुभकामना सन्देशमा राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिबहरुको ऋणमोचन गरी सुरुआत गरेको नेपाल संवत् नेपालको मौलिक सम्वत् भएको बताउँदै प्रमुख शेरचनले यसलाई प्रचलनमा ल्याउनु पर्ने आवश्यकता पनि औंल्याएका छन् ।