Notification

×

Iklan

Iklan

आज लक्ष्मीपूजाः दीपावली गरी मनाइँदै

Friday, November 13, 2020 | November 13, 2020 WIB Last Updated 2021-12-30T03:25:34Z

 बेनी

कात्तिक २९


आज यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मीपूजा । कार्तिक कृष्ण पक्ष औंसीका दिन मनाइने लक्ष्मीपूजा आज परेको हो । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धापूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।




सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपमालिका सहित लक्ष्मीलाई आमन्त्रण गरिन्छ । 


आजको दिन विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, सिँढीलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने प्रचलन छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।




दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।


आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको र बलिराजाले पनि सबैको भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको जनविश्वास छ ।


कुकुर तिहार पनि आजै

सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार पर्छ । तर, यसपटक तिथीको घटबढका कारण शनिबार नै कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । 




इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । 


घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।


कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार शुरु भएको हो । दोस्रो दिन शुक्रबार काग तिहार पर्व मनाइएको थियो ।


×
Berita Terbaru Update