Notification

×

Iklan

Iklan

मुस्ताङको कोरलामा बीओपी भवनको शिलान्यास

Wednesday, November 4, 2020 | November 04, 2020 WIB Last Updated 2021-12-30T03:25:47Z

 बेनी 

कात्तिक २०


चीनसँग सीमा जोडिएको मुस्ताङको कोरला नाकामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास भएको छ । ६ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने भवनको बुधबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गरे ।




मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले कोरला नाका नजिकै बीओपी रहने भवनको शिलान्यास भएको जानकारी दिएकी छिन् । “सशस्त्र प्रहरी बलका नाममा जग्गा प्राप्त भएपछि स्थायी संरचना निर्माण शुरु भएको हो ।” सशस्त्र प्रहरीको उपस्थितिले कोरला नाकाबाट हुन सक्ने सबैखाले अवाञ्छित गतिविधि नियन्त्रण हुने प्रजिअ पौडेलको भनाइ छ ।




सरकारले गत जेठ १६ मा कोरला नाकादेखि १२ किलोमिटर तल लोमन्थाङ गाउँपालिका–१ छोसेरको नेचुङस्थित भन्सार तथा क्वारेन्टाइन कार्यालय भवनमा दुई कोठा छोडेर बाँकी कोठामा बीओपी स्थापना गरेको थियो । 




नेपालको चीनसँग मुस्ताङमा मात्रै १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ । यो खण्डमा १८–३३ सम्मका १६ वटा सीमास्तम्भ छन् । 


नेचुङमा रहने उक्त बीओपी स्थापना गर्न सदरमुकाम जोमसोमस्थित ३३ नम्बर गुल्मबाट २० जना सशस्त्र प्रहरी खटाइएको छ । सरकारले भारत र चीनसँग सीमा जोडिएका १ सय २२ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको छ ।


भारतको अतिक्रमणमा परेको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्र नजिकै पर्ने व्यास गाउँपालिका–१ छाङरुमा यसअघि गत वैशाख ३१ मा सशस्त्र प्रहरीको १०७ औं बीओपी स्थापना गरिएको थियो ।


संयोग कस्तो भने भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणमा आउने दिन चीनको सीमानाकामा सशस्त्रको बिओपी भवन शिलान्यास गरिएको छ ।


तस्विरः गण्डकी प्रदेश सांसद ईन्द्रधारा विष्टको फेसबुकबाट



×
Berita Terbaru Update