बेनी
मङ्सिर ९
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनबीच मितेरी साइनो जोडिएको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा सोमबार साँझ एक कार्यक्रमबीच मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले मितेरी साइनो जोडेका हुन् ।
मीत लगाउने विषयमा पहिले नै समझदारी भए अनुसार मुख्यमन्त्री गुरुङ म्याग्दी आएको अवसरमा एक अर्काले टिका र माला लगाएर ‘मीत’ साइनो जोडिएको गाउँपालिका अध्यक्ष पुनले बताए । सोक्रममा दुबै जनाले एक अर्कालाई नेपाली ढाका टोपी र माला लगाइदिएका थिए ।
“म राजनीतिमा पछि आएको हुँ”, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले भने, “निर्वाचनभन्दा पहिला उहाँसँग चिनजान थिएन । जनप्रतिनिधि भएर केही कार्यक्रममा सँगसँगै बस्ने मेसो मिलेपछि धरैले दुई भाइजस्तै भन्न थाले । आज त हामी मीत भैहाल्यौं ।” राजनीतिक रुपमा दुई फरक पार्टीमा भए पनि भावनात्मक निकटताले मितेरी साइनो सम्भव भएको पुनको भनाइ थियो ।
सोही अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले आफू र अध्यक्ष पुनबीच विकासप्रेमी सोच र भावनात्मक सम्बन्धले मितेरी साइनोसम्म पु¥याएको धारणा राखेका थिए ।
दुबै पक्षको पारिवारिक जमघटमा भएको कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षले एकअर्कालाई टिका र माला लगाउनुको साथै केक समेत काटेर खुसियाली साटासाट गरिएको थियो ।
यसअघि अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवकै अवसरमा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षबीच मितेरी साइनो जोड्ने निश्चित भएको बताइएको छ ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य विनोद केसी, मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी र मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुलगयतको सहभागिता थियो ।
नेपाली संस्कृतिमा मितेरी सम्बन्धको ठूलो महत्व छ । ‘सुख हुँदा मावली सम्झिनु दुख पर्दा मीतलाई सम्झिनु भन्ने’ नेपाली उखान नै बनेको छ ।
फरक राजनीतिक पृष्ठभूमिबाट निर्वाचनमा होमिएर जनप्रतिनिधि बनेका प्रदेश मुख्यमन्त्री र गाउँपालिका अध्यक्षबीचको मितेरी साइनोले मौलिक नेपाली संस्कृति संरक्षणमा टेवा पुगेको सर्वसाधारणको भनाइ छ ।