बेनी
मङ्सिर १
तिहार भन्ने बित्तिकै तपाईं हामी देउसी भैलो सम्झिने गर्छौं । नेपाली समाजमा तिहारको मेसो पारेर देउसी र भैलो खेल्ने चलन छ । तर, यसपटक कोरोना सङ्क्रमणको उच्च जोखिमक कारण सरकारले देउसी भैलो खेल्न निषेध गरेको छ । भिडभाड हुने गरी जम्मा हुँदा सङ्क्रमण हुनसक्ने भन्दै सरकारले यसपटकका चाडपर्व सकेसम्म घरपरिवारमै सीमित रही मनाउन अनुरोध गरेको हो ।
त्यसैले अघिल्ला वर्षजसरी साथीभाइ जम्मा भई देउसी भैलो खेल्न त पाउँदैनौं । तर, यसको बारेमा केही जानकारी चाहिँ हासिल गर्न सक्छौं ।
देउसी भैलोबारे नेपाली साहित्यमा अध्ययन अनुसन्धान हुँदै आएको छ । चाडपर्व र संस्कृतिसँग सम्बन्धित विषयको खोजबिन गर्ने साहित्यको एउटा हाँगोलाई लोकसाहित्य भन्ने गरिन्छ । सभ्यताको प्रभावबाट टाढा रही सरल जीवन बाँचिरहेका निरक्षर जनताको आशा–निराशा, हर्ष–विषाद, जीवन–मरण, लाभ–हानि सुख–दुखको अभिव्यक्ति नै लोकसाहित्य हुन् । यसभित्र लोकगीत, लोककविता, लोकगाथा, लोकनाटक, लोककथा, उखान टुक्का आदि पर्दछन् ।
देउसी र भैलो पनि लोकसाहित्यको पर्वगीत अन्तर्गत पर्छन् । लोकसाहित्यले यसलाई कसरी चर्चा गर्छ, एकपटक हेरौंः
भैलो
कात्तिक महिनाको औंसीका दिन साँझ झिलिमिली बत्ती बालेर लक्ष्मीको पूजा गरिन्छ । यसै अवसरमा गाउँघरका किशोरीहरु भैलो खेल्दै गाउँगाउँ डुल्छन् । भैलो खेल्ने यी किशोरी वा युवतीहरुलाई भैलिनी भनिन्छ । कतै कतै तिहारको पाँचै दिन पनि भैलो खेल्ने गरिन्छ । पाँचौं दिनसम्म भैली खेलेर त्यस वर्षको भैलोलाई विसर्जित गरिन्छ । भैलो खेल्दा भैलाकै लयका गीत गाउँछन् । त्यसमा एउटीले भट्ट्याउने र अरुले ‘भैली’ वा ‘भैलीराम’ भन्दै दोहो¥याउने गर्छन् ।
यस गीतमा भैलेनीहरु बलिराजाले चलाएको चलनअनुसार भैलो खेल्न आएको कुरा बताउँछन् । उनीहरु गाउँका घर घर डुल्छन् र घरको वातावरण, घरको सम्पन्नता र घरका मुख्य व्यक्तिका गुणहरुको प्रशंसा गर्छन् । केही समयसम्म गीत गाएपछि घरकी महतारी (घरपट्टि आमै) निस्किन्छिन् अनि स्थानीय चलन अनुसार रोटी, पैसा, फलफुल नाङ्लामा अथवा टपरीमा राखी बत्ती बालेर सगुन दिन्छिन् । भैलिनीहरुले घरकी महतारीलाई टीका लगाइदिएर आशीर्वादका गीत गाउँछन् ।
यसरी आशीर्वाद दिँदा त्यस घरकी महतारी (बुढी आमै) ले ढुङ्गा छुँदा अन्न होस्, पानी छुँदा तेलै होस्, यो घर तराईको लत्ताकपडा, भोटको नुन र ल्हासाको सुनले भरियोस् भन्ने जस्ता भाव आउने कुरा भनिएको हुन्छ ।
भैलाको उत्पत्तिबारे विभिन्न मत प्रचलित छन् ।
एकथरी मानिस जुम्लाका राजा बलिराजाका पालादेखि भैलो चलेको भन्छन् ।
अर्काथरी चाहिँ बलिराजा भनेर पुराणका दैत्यराज बलिलाई देखाउँछन् । देवासुर सङ्ग्राममा हारेका देवताका छोरी चेलीहरुले बलिराजासँग अनुमति लिई भैलो खेले । देवताहरुले चेलीहरुको आशीर्वाद प्राप्त गरी असुरहरुलाई हराउन सकेका हुन् र त्यसै बेलादेखि भैलोको प्रचलन शुरु भएको हो भन्ने विश्वास रहिआएको छ ।
आज नेपालीहरु जहाँ पुगेका छन् त्यहाँ भैलो पनि पुगेको छ । यसअर्थमा भैलो विश्वभर जताततै पुगेको छ । नेपालीपनलाई जीवन्त बनाउने भैलो नेपाली संस्कृतिको एउटा महत्वपूर्ण विशेषताका रुपमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं संस्कृतिविज्ञ प्रा.डा रामचन्द्र गौतमले भलो होस भन्दाभन्दै भैली भन्ने चलन रहेको जानकारी दिए । “भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा ‘भैलो’ हुन आएको हो”, अध्यक्ष गौतमले भने, “सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो।”
देउसी
लक्ष्मीपूजाको भोलिपल्ट अर्थात गाईतिहारको दिन । साँझको बत्ती बालेपछि गाउँका किशोर, युवा र अधबैंसेहरुसमेत देउसीको गीत गाउँदै घर घर डुल्छन् ।
भैलो विशेषगरी नारीहरुको पर्व हो भने देउसीचाहिँ पुरुषहरुको हो । तर, कति ठाउँमा देउसी खेल्दा महिलाहरुको पनि सहभागिता रहेको हुन्छ । देउसी खेल्न निस्केका किशोर र प्रौढहरुलाई देउसे भनिन्छ र स्थानीय प्रचलनअनुसार मादल, खैंजडी र मुजुरा लिएर देउसीका लयमा गीत गाउँदै घर घर डुल्छन् । घरकी मालिक्नीलाई आशीर्वाद दिएर सुख र समृद्धिको ‘सह’ ल्याउँछन् । भैलोमा जस्तै देउसीमा पनि एक जना भट्ट्याउने हुन्छ र अरुले सामूहिक स्वरमा ‘देउसिरे !’ भन्ने गर्छन् ।
भट्ट्याउने व्यक्तिले देउसी खेल्ने घरमा पुगेपछि त्यहाँको झिलिमिली बत्तीको, प्राकृतिक वातावरणको, घरको सम्पन्नताको र घरपट्टि मानिसको दानशीलताको वर्णन गर्छ । परम्परागत चलनअनुसार देउसी खेल्न आएको र अरु घरमा पनि जानुपर्ने कुरा बताउँछ र देउसेहरु छिटो विदा गर्ने व्यवस्था मिलाउन घरका महतारीलाई प्रेरित गर्छन् । भैलामा जस्तै घरकी महतारीले आफ्ना इच्छा र क्षमता अनुसार रोटी, फलफुल र पैसा दिन्छिन् ।
अन्तमा देउसेहरु यस घरका बुढाबुढी वरपिपलझैं झाङ्गिएर आफ्ना सन्तानले सबैलाई ढाकून्, यस घरका लालाबालाहरु दुबोझैं मौलाऊन् र केराझै गाँजियून्, यस घरका परेवा–पक्षी उड्दा सूर्यलाई ढाकून्, तपाईंहरुले ढुङ्गो समाउँदा द्रव्य होस् र माटो समाउँदा अन्न होस् भन्दै आशीर्वाद दिएर विदा हुन्छन् ।
देउसेको आशीर्वादले घरमा सह टिक्छ भन्ने जनविश्वास छ ।
लोकसाहित्यका अध्येता एवं संस्कृतिविज्ञ चुडामणि बन्धु देउसी र भैलोका गीतहरुमा र प्रस्तुतिमा पनि समानता भएकाले यूवायुवतीहरु मिलेर दुबै पर्व मनाउने चलन रहेको बताउँछन । ठाउँ अनुसार फरक फरक ढङ्गले प्रस्तुत गरिने देउसीभैलोका गाथामा दिदीको आशीर्वाद र शुभेच्छाले भाइचाहिँले यमराजबाट मुक्त भएको कथा जोडिन्छ ।
देउसी शब्दको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा पनि विभिन्न अड्कलहरु पाइन्छन् । मूलतः पहाडी क्षेत्रको प्रचलन भए पनि आज देउसी र भैलो नेपाली संस्कृतिका साझा प्रतीक बनेका छन् र नेपालीहरु पुगेका ठाउँमा पुगेका छन् ।
“देउसीलाई देवासुर सङ्ग्राम, पुराणप्रसिद्ध बलिराजाको दानशीलता र जुम्लाका ऐतिहासिक बलिराजाको सामाजिक उत्थानका घटनाहरुसँग पनि जोडने गरिएको छ,” लोकाहित्यका विज्ञ चुडामणि बन्धुले भने, “नेपाली लोकजीवनको विविधता अनुसार यसमा धेरथोर भिन्नता पाइने गरेको छ ।”
समयको परिवर्तनसँगै देउसी र भैलोलाई निर्माण, सामाजिक परिवर्तन र विकासका सन्देशहरुलाई जनस्तरसम्म पु¥याउने परम्परागत माध्यमका रुपमा प्रयोग गर्न थालिएको छ । पछिल्लो समय देउसी भैलोका नाउँमा विदेशी भाषाको गीतमा गाउने, नाच्ने र आधुनिक पहिरन समेत मिसिन थालेको छ । यसले गर्दा तिहारको मौलिक नेपाली संस्कृति हराउने चिन्ता बढेको लोकसंस्कृतिविज्ञ बन्धुले बताए ।