बेनी
कात्तिक १८
प्रहरीले पिरामिडमा आधारित व्यवसाय (नेटवर्किङ धन्दा) सञ्चालन तथा ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला–७ मिलनचोक घर भई हाल मालेपाटन, पोखरामा व्यवसाय गर्दै आएका होमनाथ जैसी, सोही ठाउँका २४ वर्षीय सरोज शर्मा र काठमाडौं महानगरपालिका–४ टोखा बस्ने प्रदिप रिजाल रहेका छन् । म्याग्दी प्रहरीको टोलीले उनीहरुलाई कात्तिक १ गते सदरमुकाम बेनीबजारबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, म्याग्दीले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
प्राप्त विवरणअनुसार पक्राउ परेका तीनै जनाले भारतीय कम्पनी Oriens Global Marketing Pvt. Ltd. ले भारतमा उत्पादन गर्दै आएका विभिन्न खालका खाद्य पदार्थ बिक्री वितरण गर्दै आएका थिए ।
कार्यालयका निरीक्षक एवं सूचना अधिकृत डाक्टरप्रसाद चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतमा उत्पादित फुड सप्लिमेण्टहरु नेपालमा ल्याई विभिन्न रोगहरु निको हुने छोटो समयमै राम्रो कमिसन प्राप्त हुनेजस्ता लोभ देखाएर खास सामान किन्न लगाई सदस्य बनाउने र सोही व्यक्तिहरुका माध्यमबाट अन्य व्यक्तिलाई समेत सदस्य बनाई पिरामिड शैलीको सञ्जालबाट कारोबार गर्दै आएको पाइएकाले पक्राउ गरिएको छ ।’
पक्राउ परेका तीनमध्ये जैसीले मालेपाटनमा ‘गण्डकी हर्वल स्टोर्स’ सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुले म्याग्दी जिल्लाका १ सय ४१ जनासहित जम्मा २५३ जना व्यक्तिलाई नेटवर्किङ धन्दामा सामेल गराएको प्रहरीले जानकारी दिएको छ ।
गैरकानुनी रुपमा पिरामिड प्रकृतिको व्यवसाय सञ्चालन गरेको र विभिन्न प्रलोभनमा अवैध सामग्री बिक्रीवितरण गरेको पाइए पछि प्रहरीले ‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४’ अनुसार प्रहरीले उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको र थप कारवाहीको लागि वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, काठमाडौंमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त ऐनको परिच्छेद २ को दफा ११ अनुसार ‘नेपालमा कुनै पनि प्रकारको पिरामिड (नेटवर्किङ) मा आधारित व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था’ छ ।
जिल्ला प्रहरी कार्यालयका निरीक्षक ध्रुव शर्माले कुनै पनि प्रलोभनमा परी अवैध व्यवसायमा संलग्न नहुन सबैलाई अनुरोध गरे । ‘पर्याप्त कानुनी र स्वास्थ्य सम्बन्धी जानकारी लिएर मात्र कारोबार गर्नुपर्ने’ निरीक्षक शर्माको भनाइ छ ।