बेनी
मङ्सिर ९
काठमाडौंको पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दी, बराङ्जाकी १८ वर्षीया सपना रोकामगर बिबिसीको ‘प्रभावकारी १०० महिला’को सूचीमा परेकी छिन् । बिबिसीले सोमबार सार्वजनिक गरेको सन् २०२० का १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी १८ वर्षीया रोका पनि परेकी हुन् ।
सूचिमा परेकी सपनाले बेवारिसे शवहरुको व्यवस्थापन सँगै बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत बन्दाबन्दीका बेला निःशूल्क खानासमेत खुवाउँदै आएकी छिन् ।
बिबिसीको सूचीमा परेपछि उनले आफू निकै खुशी भएको प्रतिक्रिया दिएकी छिन् । “यसबाट मैले थप प्रोत्साहन पाएकी छु,” १८ वर्षीय सपनाले भनिन्, “यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो ।”
समाजसेवाको भावनाले भन्दा पनि मनको शान्तिका लागि बेवारिसे शव व्यवस्थापन गर्दैै आएको बताउँदै सपनाले बिबिसीको छनोटले आफुलाई बेसहाराहरुको सेवामा लाग्न थप प्रेरणा प्राप्त भएको बताएकी छिन् ।
बिबिसीको सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप विकास अभियानको नेतृत्व गरेकी सारा गिल्बर्टसहितका महिला छन् ।
‘विश्वभरका १०० प्रभावशाली महिला’ सार्वजनिक गरेको बिबिसीले अप्ठ्यारो परिस्थितिमा केही भिन्न काम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरूलाई सूचीमा राखिएको जानकारी दिएको छ ।