बेनी
मङ्सिर ११
जीवन विज्ञान प्रतिष्ठान नेपालले पहिलोपटक नेपाल बाहिर आफ्नो दोस्रो केन्द्रीय कार्यालय स्थापना गर्न लागेको छ । प्रतिष्ठानका संस्थापक एवं याेगगुरू रमेश नेपालकाे प्रकाश दिवस (जन्मदिन) काे अवसर पारेर कार्यालय स्थापना हुन लागेको हाे ।
प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एल पि भानु शर्माले भर्चुअल माध्यमबाट यही मङ्सिर १२ गते शुक्रबार अमेरिकामा शुरू हुन लागेको दाेस्राे केन्द्रीय कार्यालयकाे समुद्घाटन गर्ने कार्यक्रम छ ।
नोभेम्बर २६ तारिखमा श्रद्धेय सद्गुरु रमेश नेपाललाई परमप्रकाश प्राप्त भएको शुभ दिनको अवसरमा जुमबाट गरिने भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
गत सेप्टेम्बर २२ मा अमेरिकाको भर्जिनियामा दर्ता भएको जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालयको सञ्चालनका लागि जीवन विज्ञानका संस्थापकद्वय श्रद्धेय सद्गुरुवरद्वय रमेश नेपाल तथा एल पि भानु शर्माको समुपस्थितिमा गत नोभेम्बर १९ मा शिव लामिछानेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति तथा छ सदस्यीय सल्लाहकार समिति गठन भएको थियोे ।
कार्यसमितिका अन्य सदस्यहरु विभिन्न विभागका संयोजकका रुपमा रहने व्यवस्था गरिएको छ । विभागीय संयोजकहरुमा मधु पन्थी, कमला खरेल, डा कल्पना सत्याल, ददि ढुङ्गाना, परशुराम भण्डारी, रोम ज्ञवाली, पुरु सुवेदी, रमेश ढकाल, सुनिता सुवेदी, सुभद्रा पराजुली रहेका छन् ।
करिब १ हजार जनालाई जुममा सहभागी गराएर गर्न लागिएको समुद्घाटन तथा प्रकाश दिवस समारोह नेपाली समयअनुसार यो नोभेम्बर २७ तारिख शुक्रवार विहान शुक्रबार बिहान ६ः४५ मा सुरु हुनेछ । यस समारोहलाई इनेपलिज, बिआरटी नेपाल तथा जीवन विज्ञानको फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।
सुख, शान्ति र समृद्धिको स्रोत आफैँभित्र छ र त्यसको उजागर गर्दै भौतिक समृद्धि र आत्मिक शान्ति हरेक व्यक्तिले योग, प्राणायामको बाटोबाट ध्यानमा पुगेर मात्र प्राप्त गर्न सक्छ भन्ने प्रयोगपरक दर्शन विगत १० वर्षदेखि जीवन विज्ञान प्रतिष्ठान नेपालले नेपाली जनमानसमा विस्तार गर्दै आएको छ ।
जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालय अमेरिकाले जीवन विज्ञानका प्रवर्तक सद्गुरुवरद्वय एल पि भानु शर्मा र रमेश नेपालको दर्शनलाई नेपाल बाहिरका गैह्रनेपालीभाषी समुदायमा विस्तार गर्ने लक्ष्य राखेको छ । संसारका सबै मानिसका लागि अहिलेको अशान्त र अवसादपूर्ण अवस्थामा ध्यानको साधनाबाट मात्र जीवन उर्जा प्राप्त हुने हुँदा यसका लागि जीवन विज्ञानको प्रयोग अन्तर्राष्ट्रिय जगतमा पु¥याउनु आवश्यक उपयुक्त र सहज देखिएकाले यसको विस्तारका लागि अमेरिकामा यसको स्थापना भएको जीवन विज्ञानले जनाएको छ ।
अमेरिका र विश्वका अरु देशमा हुने सबै प्रकारका साधनाहरुका लागि समुचित व्यवस्था मिलाउनुका साथै नेपालीका अतिरिक्त अंग्रेजी हुँदै अन्य भाषामा प्रशिक्षकहरु तयार गर्दै जाने, जीवन विज्ञानका साधनामा आधारित पुस्तकहरु विभिन्न भाषामा तयार गर्ने र अमेरिकामा विश्वकै एक उत्कृष्ट ध्यान केन्द्र स्थापना गर्ने दीर्घकालीन लक्ष्य दाेस्राे केन्द्रीय कार्यालयले लिएको बताइएको छ ।