बेनी
मङ्सिर १४
उद्यमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्ष बनेका छन् । करिब चार वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका गोल्छा विधानको व्यवस्थाअनुसार शनिबार सम्पन्न ५४ औं साधारणसभाबाट अध्यक्ष भएका हुन् ।
नाडा अटोमोबाइल एशोसिएसनको अध्यक्ष भइसकेका गोल्छा पछिल्लो चार वर्ष महासंघको वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए ।
अध्ययनशील र आर्थिक विषयवस्तुमा पकड राख्ने व्यवसायीका रुपमा चिनिने गोल्छा आगामी दुई वर्ष निजी क्षेत्रको छाता सङ्गठनको नेतृत्व गर्नेछन् ।
महासंघलाई चलायमान र समस्या समाधानमुखी बनाउनका लागि आफूले पहल गर्ने गोल्छाले बताउँदै आएका छन् । यसका लागि सङ्गठन सुदृढीकरणदेखि सचिवालयको सदृढीकरणसम्मका काम गर्ने, महासंघलाई देशको आर्थिक थिङ्कट्याङ्क बनाउनेसम्मका योजना उनले अघि सारेका छन् ।
देशका नीतिगत समस्या समाधान गर्नका लागि तथ्यमा टेकेर प्रमाणसहित सुझाव दिने संस्कृतिको विकास गर्ने उनको गोल्छाले घोषणा गरिसकेका छन् ।
गोल्छासहितका ५४औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले आइतबार बेलुका पदभार बहाली गर्ने कार्यक्रम छ । आइतबार बिहान सम्पन्न मतगणनाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, उपाध्यक्षहरुमा वस्तुगतबाट अन्जन श्रेष्ठ, जिल्लानगरबाट दिनेश श्रेष्ठ र एशोसिएटबाट रामचन्द्र संघई निर्वाचित भएका छन् ।