बेनी
मङ्सिर १४
द्वन्द्वकालीन समयमा घाइते भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरूको उपचार सरकारले गरिदिने भएको छ । जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेसमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशूल्क उपचार गर्ने भएको हो ।
विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भई उपचार गराउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरूलाई सरकारी अस्पतालमा निःशूल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
२०५२ सालदेखि शुरु भएको सशस्त्र द्वन्द्वयता घाइते भएका कतिपय पीडितहरुले अझै उपचार पाएका छैनन् । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष हुँदा समेत नेपालको शान्तिप्रक्रिया टुङ्गोमा पुग्न सकेको छैन भने उपचार अभावमा द्वन्द्वकालीन घाइतेहरुको दैनिकी कष्टकर बनेको छ ।
