Notification

×

Iklan

Iklan

ठाउँको टुङ्गो नहुँदा म्याग्दीमा अस्पताल भवनको शिलान्यास भएन

Monday, November 30, 2020 | November 30, 2020 WIB Last Updated 2021-12-30T03:25:07Z

बेनी

मङ्सिर १५


प्रस्तावित अस्पताल कहाँ बनाउने भन्ने टुङ्गो नलाग्दा म्याग्दीमा तीनओटा स्थानीय सरकारले अस्पताल भवनको शिलान्यास गर्न सकेनन् । संघीय सरकारले सोमबार (आज) देशभर एकपैपटक ३९६ ओटा आधारभूत अस्पताल भवनको शिलान्यास गर्ने घोषणा गरेको थियो । तर, तोकिएको दिनमा मङ्गला गाउँपालिकाबाहेक अन्य स्थानीय सरकारले भवन शिलान्यास गर्न सकेनन् ।




उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अस्पताल बनाउनका लागि वडा नम्बर ४ को नारच्याङ बेंसीमा १० रोपनी जग्गा त पाएको छ । तर, प्राप्त जग्गा गाउँपालिकाको नाउँमा नभएका कारण सोमबार शिलान्यास गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिएका छन्  ।


त्यसैगरी धवलागिरी गाउँपालिकामा पनि ठाउँ विवादका कारण भवनको शिलान्यास हुन सकेन । गाउँपालिकाको ताकम वा धारापानी गाउँमध्ये कहाँ अस्पताल बनाउने भन्ने टुङ्गो नहुँदा सोमबार अस्पताल भवनको शिलान्यास त भएन । बरु, पहिले भएको सहमति पालना नभएको भन्दै धारापानीका स्थानीयले गाउँपालिका जोड्ने मोटरबाटो नै अवरुद्ध गरिदिए । स्थानीय किरण थापाका अनुसार गाउँपालिकाको केन्द्र मुना तोक्ने बेला नै स्वास्थ्य कार्यालय धारापानीमा राख्ने पूर्वसहमति पालना नहुँदा आन्दोलन गर्नुपरेको हो ।


उता, रघुगङ्गा गाउँपालिकामा पनि ठाउँ विवादकै कारण अस्पताल भवन शिलान्यास हुन सकेको छैन । स्थानीय सरकारको सिफारिसमा आधारित रही संघ सरकारले अघुगङ्गा–१ बेगमा अस्पताल बनाउने भनी बजेट विनियोजन गरिसकेको छ । तर, यसबीचमा गत असोज २० गते बसेको रघुगङ्गा गाउँकार्यपालिकाको बैठकले प्रस्तावित अस्पताल गाउँपालिकाको केन्द्र मौवाफाँटमै बनाउनु पर्ने सिफारिस गरेपछि त्यहाँ पनि विवाद बढेको छ । 


गाउँपालिकाले बेगमा अस्पताल बनाउने भनेपछि स्थानीय व्यक्तिहरुले नौ रोपनी बढी जग्गासमेत दिने निर्णय गरिसकेका छन् । तर, फेरि गाउँपालिकाले नै पहिलेको निर्णय फेरेर मौवाफाँटमा अस्पताल बनाउने भनेपछि अनावश्यक विवादको सिर्जना भएको छ । त्यसो त साविक बेग स्वास्थ्यचौकीको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षमा १ करोड ३५ लाख बजेट विनियोजना गरिसकेको छ । तर, आधारभूत अस्पताल निर्माणको कुरा गरेर फेरि जिल्ल्याउने काम भएपछि बेगबासी पनि गाउँपालिकासँग रुष्ट बनेका छन् ।


रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अस्पताल भवन बनाउने ठाउँको टुङ्गो नभएकाले सोमबार भवनको शिलान्यास हुन नसकेको जानकारी दिए । 


पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले भने साविक दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तरोन्नति गर्नुपर्ने सुझाव केन्द्रमा पठाएको छ । 


मङ्गलामा शिलान्यास

केन्द्र सरकारले तोकेको दिन अर्थात् सोमबार म्याग्दीको मङ्गला गाउँपालिकाले मात्र १५ शैयाको अस्पताल भवन शिलान्यास गरेको छ । संघीय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्तर्गत छनौट गरेको योजनालाई औपचारिक रुपमा अघि बढाउने काम मङ्गला गाउँपालिकाले कार्यान्वयन गरेको हो । 




सोमबार मङ्गला गाउँपालिका–५, अर्मन स्वास्थ्य चौकी परिसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पताल भवनको शिलान्यास गरेका छन् । गाउँपालिकाले स्वास्थ्य चौकीको नजीकै थप जग्गा व्यवस्थापन गरी अस्पताल निर्माण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए ।


अस्पतालल भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना लगायत गाउँपालिकाका कर्मचारी, वडाका जनप्रतिनिधि र स्थानीयबासीहरुको समेत सहभागिता थियो ।  


×
Berita Terbaru Update