बेनी
मङ्सिर १६
विश्व एड्स दिवस
नेपालमा एचआइभी सङ्क्रमण हुनुमा असुरक्षित यौन समपर्क नै मुख्य कारण रहेको पाइएको । विश्व एड्स दिवसको अवसर पारी सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले उक्त जानकारी गराएकी हुन् ।
नेपालमा करिब ८० प्रतिशत एचआईभी सङ्क्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको डा. देवकोटाले बताइन् । “एचआइभी पोजिटिभ हुनुमा असुरक्षित यौन सम्पर्क नै मूलकारण रहेको पाइयो,” कार्यक्रममा बोल्दै देवकोटाले भनिन्, “सङ्क्रमणका सहायक कारण अरु भए पनि तिनलाई तुलनात्मक रुपमा सामान्य भन्न सकिन्छ ।”
एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी सङ्क्रमणको दर ५ प्रतिशत भन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआईभी सङ्क्रमण दर १ प्रतिशत भन्दा कम भएको पनि केन्द्रका निर्देशक डा.देवकोटाले बताइन् ।
नेपालमा हालसम्म २९ हजार ५०३ जनामा एचआईभी सङ्क्रमण भएको जानकारी दिँदै डा. देवकोटाले सङ्क्रमितमध्ये पुरुषको संख्या धेरै रहेको बताइन् । डा. देवकोटाका अनुसार सङ्क्रमितमध्ये १७ हजार ५८७ रहेको छ भने महिलाको संख्या ११ हजार ९१६ रहेको छ । यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शून्य दशमलव १३ प्रतिशत रहेको पनि डा. देवकोटाले जानकारी दिएकी छिन् ।
तथ्याङ्क अनुसार गएको असार मसान्त सम्ममा नेपालको कुल एचआईभी सङ्क्रमितमध्ये १९ हजार ४०० जना अर्थात् ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन् । सन २०१० को तुलनामा सन २०१९ सम्ममा नेपालमा नयाँ सङ्क्रमण ६४ प्रतिशतले घटेको छ ।
यस्तै, बच्चाहरूमा ८५ प्रतिशतले नयाँ सङ्क्रमणमा कमी आएको पनि डा. देवकोटाले बताएकी छिन् । एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ । एचआईभी सङ्क्रमितहरूलाई ८० वटा एआरटी केन्द्रहरू र २० वटा एआरभी केन्द्रहरूबाट निःशूल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले जानकारी दिएकी थिइन् ।
डिसेम्बर १ तारिखका दिन विश्वभर एड्स दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी विश्व एड्स दिवस मनाइँदैछ । नेपालले यसपटक ‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारा दिएर विश्व एड्स दिवस मनाउन लागेको छ ।