बेनी
मङ्सिर १७
कोरोना भाइरसविरुद्ध अमेरिकी र जर्मन संयुक्त कम्पनी फाइजर र बायोएनटेकले बनाएको खोपले सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्राप्त गरेको छ । बेलायतले कोरोना भाइरसविरुद्धको खोप विस्तारित तहमा सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो ।
कोरोना भाइरसविरुद्ध विकसित खोपलाई सर्वसाधारण नागरिकको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देशसमेत बनेको छ ।
बायोएनटेक र फाइजरले बनाएको खोप कोरोना भाइरसको सङ्क्रमण रोक्नमा ९५ प्रतिशत सफल भएको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षणले देखाएको थियो ।
त्यसपछि सो खोप स्वीकृतिका लागि निवेदन दिइएकोमा बेलायतको नियामक निकाय एमएचआरएले हरियो झण्डा देखाएको बताइएको छ ।
फाइजरको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको भन्दै एमएचआरएले सर्वसाधारणलाई विस्तारित तहमा प्रदान गर्नका लागि सुरक्षित रहेको बताएको हो ।
उच्च प्राथमिकता समूहमा रहेका व्यक्तिहरुलाई अबको केही दिनभित्र फाइजरको खोप दिइने पनि समाचारमा बताइएको छ ।
इतिहासमै सबैभन्दा छिटो कुनै पनि खोप विकास भएर सर्वसाधारणको प्रयोगमा आउन थालेको यो पहिलोपटक हो । सामान्य अवस्थामा खोप निर्माणमा एक दशक लाग्ने गरेकोमा कोरोना भाइरसविरुद्धको खोपचाहिँ १० महिनामा तयार भएको हो ।
