बेनी
मङ्सिर ४
नेपालको शेयर बजारमा अहिलेसम्मकै धेरै रकमको कारोबार भएको छ । बिहीबार शेयर बजारमा रू. ६ अर्ब ११ करोड ६७ लाखको कारोबार भएको हो । बुधबार ३ अर्ब ४१ करोड रुपैयाँको शेयर किनबेच भएकोमा बिहीबार ऐतिहासिक रेकर्ड कायम भएको हो ।
शेयर कारोबार रकमसँगै परिसूचकमा पनि फराकिलो अङ्कको विस्तार भएको छ । नेप्से परिसूचक ३६ अङ्कले बढेर १ हजार ७७८ विन्दु पार गरेको छ । यो ऐतिहासिक उच्चतम विन्दुभन्दा करीब १०० अङ्क मात्रै थोरै हो । तिहारपछि खुलेको शेयर बजारमा बुधबार र बिहीबार गरी ६० अङ्कको वृद्धि भएको छ ।
अहिलेसम्म नेप्सेको उच्चतम विन्दु १ हजार ८८१ हो । कारोबार शुरू हुनेबित्तिकै बढेको बजारलाई व्यापार, होटल, उत्पादन, बीमा लगायतका समूहले उचालेका थिए । ब्यांक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको तथा ब्याजदर सस्तो भएका कारण शेयर बजारमा लगातारको उत्साह देखिएको बताइएको छ ।
कारोबार भएकामध्ये १३३ कम्पनीको मूल्य बढेको छ भने २३ को मूल्य घटेको छ ।