बेनी
मङ्सिर ४
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अति आवश्यकबाहेकका सबै सेवाहरु एक साताका लागि बन्द गरेको छ । गाउँपालिकामा कार्यरत एक महिला कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले मंसिर ३ देखि ९ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो ।
गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनको हस्ताक्षरमा जारी गरिएको सूचनामा सङ्क्रमित महिलासँगको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पहिचान र आवश्यकता अनुसार पिसिआर परीक्षणको लागि गाउँपालिकाको सेवा बन्द गरिएको बताइएको छ ।
गत कात्तिक २५ गते गाउँपालिकाबाट १५ जनाको नमुना सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा गाउँपालिकामा कार्यरत एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसअघि कात्तिक २४ देखि २८ गतेसम्म गाउँपालिकाभित्र रहेका बैँक तथा वित्तीय क्षेत्रका साथै सहकारी संस्थाको सेवा पनि बन्द गरिएको थियो ।