बेनी
कात्तिक २४
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध भ्याक्सिनको विकास गरिरहेको एक कम्पनीले त्यसको प्रभावकारिता ९० प्रतिशतभन्दा माथि देखिएको दावी सार्वजनिक गरेको छ । तेस्रो चरणको क्लिनिकल ट्रायलमा उक्त भ्याक्सिनले कोभिड विरुद्ध शरीरको प्रतिरोधात्मक क्षमतामा वृद्धि भएको दावी गरिएको हो ।
अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बियोनटेकले तयार पारेको यस भ्याक्सिनले कोभिड–१९ विरुद्ध लड्न सक्ने क्षमता विकासमा सघाउने भ्याक्सिन निर्माणमा काम गरिरहेका वैज्ञानिकहरूको दाबी छ ।
फाइजरका प्रमुख कार्यकारी अधिकृत डाक्टर अल्बर्ट बौर्लाले मानव समुदाय र विज्ञानको दुनियामा यसलाई नयाँ दिन भएको बताएका छन् । “विश्वव्यापी स्वास्थ्य सङ्कटको अन्त्यका लागि मद्दत पुर्याउन हामी सफलताको नजिक पुगिसकेका छौं । यसलाई महत्वपूर्ण चरणमा पुगेको भन्न सकिन्छ। हामी मानव समुदायका लागि यो भ्याक्सिन चाँडै उपलब्ध गराउने छौं”, बौर्लालाई उद्धृत गर्दै आईटिभीको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
भ्याक्सिन निर्माणमा सहभागी तथा विश्वविद्यालयमा भाइरोलजी प्राध्यापन गर्दै आइरहेका वैज्ञानिक इयान जोन्सले आगामी हप्ता हजारौं सहभागीहरूबाट प्राप्त थप प्रभावकारिता र सुरक्षा तथ्याङ्कलाई पर्खिरहेको र त्यसपछि थप तथ्य सार्वजनिक गर्ने बताएका छन् । “अहिलेसम्म बिरामीमा कुनै प्रतिकूल घटनाहरू भएको रिपोर्ट आएको छैन”, उनले भनेका छन्, “बाँकी रिपोर्ट आयो भने हामी यसलाई सार्वजनिक गर्ने छौंँ ।”
समाचारमा बताइए अनुसार सबै कुरा योजना अनुसार हुँदै गएमा सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा आउन सक्नेछ ।