बेनी
मङ्सिर १२
दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गला द्विपक्षीय छलफल र भेटघाटमा व्यस्त रहेका छन् । बिहीबार बिहान काठमाडौं उत्रिएका हर्षवर्द्धनले समकक्षी नेपाली विदेश सचिव भरतराज पौड्यालसँग विदेशसचिव स्तरीय छलफल गर्नुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे ।
बैठकमा सहभागी दुई परराष्ट्र सचिवले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल एवं समीक्षा गरेका छन् । उनीहरुले महामारीले निम्त्याएको विषम परिस्थितिको बाबजुद नेपाल र भारतबीचको सहकार्यबारे समीक्षा गर्नुको साथै सीमा व्यापार र वाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरूबारे चर्चा गरेको परराष्ट्र मन्त्रालयस्रोतले बतायो ।
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा विदेश सचिव श्रृङ्गलाले भारतका सम्माननीय राष्ट्रपतिको सन्देश सुनाएका थिए । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव श्रङ्गलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको बताइएको छ ।
भेटघाटका क्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले वार्ताको माध्यमबाट सबैखाले समस्या समाधान गर्न चाहेको स्पष्ट धारणा राखेका छन् । दुई मुलुकबीच पछिल्लो समय देखिएका सीमा विवादलगायतका विषय इतिहासले छाडिदिएको जिम्मेवारी भएको र प्राप्त प्रमाणका आधारमा नेपालले आफ्नो धारणा प्रष्ट पारेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको यही सन्देश प्रधानमन्त्री मोदीसम्म पु¥याउन अनुरोध गरेका थिए ।
प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव श्रृङ्गलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिएको बताइएको छ ।
यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटमा विदेश सचिव श्रृङ्गलाले विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त आयोगको अर्को बैठकमा सहभागी हुन पठाएको निमन्त्रणा सुनाउनुका साथै कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि २००० थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गरेका थिए ।
भारतको आर्थिक सहयोगमा निर्मित भौतिक संरचनाको अवलोकन र केही जिल्लाको भ्रमणपछि विदेश सचिव हर्षवर्द्धन श्रृङ्गला आजै भारत फर्किने कार्यक्रम छ ।