बेनी
मङ्सिर १०
रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको नयाँ भवनको शिलान्यास गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवरले विधिपूर्वक भवनको शिलान्यास गरेका हुन् ।
भवनका लागि मौवाफाँटका स्थानीयले निशूल्क जग्गा दान गरेपछि नयाँ भवनको शिलान्यास गरिएको हो । नयाँ भवनभित्र हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक रहनेछन् ।
शिलान्यास कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले प्रहरी चौकीको स्थापनाले शान्ति सुरक्षा कायम गर्न सहज हुने विचार व्यक्त गरे । “जग्गादाताहरुको सहयोगले मात्र प्रहरी चौकी निर्माण सम्भव भएको छ,” अध्यक्ष भण्डारीले भने, “तोकिएको समयमै भवन सम्पन्न गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ ।” प्रहरीचौकीको स्थापनाबाट स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न र वित्तीय क्षेत्र आदिमा सुरक्षाको प्रत्याभूति हुने भण्डारीको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै डिएसपी किरणजङ्ग कुँवरले प्रहरी चौकीमा व्यवस्थित भवन नहुँदा प्रहरीलाई नियमित कार्यसम्पादनमा समस्या भइरहेको अवस्थामा नयाँ भवनका लागि शिलान्यास हुनु सबैका लागि राम्रो भएको धारणा राखे ।
“नयाँ भवन बनेपछि प्रहरीलाई आफ्नो काम गर्न सहज हुनेछ” डिएसपी कुँवरले भने, “समुदायको सहयोगबाट निकै उत्साहित छौ ।” स्रोत र साधन प्रयोग गरी गाउँपालिकाभित्र शान्ति सुरक्षा कायम गर्न समुदायसँगै सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता पनि कुँवरले जनाएका थिए ।
१ करोड ८७ लाख ६२ हजार ८४६ को लागतमा निर्माण हुने भवनका लागि जयन्द्र श्रेष्ठ निर्माण प्रालिले जिम्मा पाएको छ । दुई तलाको भवनमा जम्मा १३ कोठा रहनेछन् ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष जीवनकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, जग्गा व्यवस्थापन संयोजक मुकुन्दप्रसाद शर्मा, जग्गादाता प्रेमनाथ शर्मा, तारानाथ शर्मा, विरबहादुर विश्वकर्मा र मिठु खत्री लगायत स्थानीय आमा समूह, यूवा क्लबका प्रतिनिधिहरुको उपस्थिति थियो ।