बेनी
मङ्सिर ६
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोेरोना भाइरसको महामारीबाट जनतालाई जोगाउनु राजनीतिक दल तथा जनप्रतिनिधिहरुको जिम्मेवारी भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै तिमिल्सिनाले यस्तो बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगेजस्तै महामारीको रोकथामका लागि नागरिकको घरघरमा पुग्नुपर्ने आवश्यकता औंल्याए । “चुनावका बेला जनताको घरघरमा पुग्न सकिन्छ भने अहिले किन नसक्ने ?” अध्यक्ष तिमिल्सिनाले भने । कोभिड रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरू नागरिकको घरघरमा पुग्नुपर्ने तिमिल्सिनाको भनाइ थियो ।
यस्तै राजनीतिक दलहरूले पनि आफ्ना भ्रातृसङ्गठनहरूलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने बताए । जनतालाई समस्या परेका राजनीतिक दल र तिनका नेताले जिम्मेवारीबोध गर्नुपर्ने उनको भनाइ छ । “यसले राजनीतिक व्यक्तिको राजनीतिक भविष्य पनि बलियो आधार तयार हुन्छ,” तिमिल्सिनाले भने, “कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै सबै काम गर्न सक्दैनन् । यसमा जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई सङ्क्रमण फैलनबाट रोक्न भूमिका खेल्नुपर्छ ।”
सोही कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुरूमा कुल जनसंख्याको २ प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिइए पनि सङ्क्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको जानकारी दिए । पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म सङ्क्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताएका छन् । “अबको चार महिनामा थप १ लाख ४८ हजार जनामा सङ्क्रमण पुष्टि हुनसक्ने अनुमान सरकारले गरेको छ,” मन्त्री ढकालले भने, “सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको अधिकतम उपयोग गरी काम गरिराखेको छ ।”
नेपालको स्वास्थ्य–प्रणालीको सामथ्र्यअनुसार सङ्क्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको मन्त्रीको भनाइ छ ।
पछिल्लो समय नागरिकस्तरबाट सहयोग प्राप्त भएकोले पनि कोरोनाविरुद्ध लड्न सरकारलाई सहज भएको मन्त्री ढकालले बताए । “अहिले कुल सकृय सङ्क्रमितमध्ये ८० प्रतिशत होम आइसोलेसनमा हुनुहुन्छ,” मन्त्री ढकालले भने, “यसको अर्थ नागरिकहरुको बुझाइमा परिवर्तन आएको भन्ने सरकारको ठम्याइ छ ।”
सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको मन्त्री ढकालको भनाइ छ ।
सम्बन्धित समाचारः कोरोना सङ्कट: स्थानीय सरकारलाई काम देखाउने मौका https://www.kalanzar.com/2020/11/blog-post_39.html
संघीय शासन व्यवस्था शुरु गरेको नेपालमा अहिले स्थानीय सरकारहरु ऐतिहासिकरुपमै शक्तिशाली छन् । तर, तिनीहरु पनि आफ्नो सोच, योजना बनाएर जनताको जिउधनको सुरक्षामा लाग्ने भन्दा ‘माथिको आदेश कुर्ने’ भूमिका सीमित देखिएको नागरिकको गुनासो छ ।
