Notification

×

Iklan

Iklan

अमेरिकी राष्ट्रपति चुनाव आजः ट्रम्प या बाइडेन कसले जित्लान ?

Monday, November 2, 2020 | November 02, 2020 WIB Last Updated 2021-12-30T03:25:50Z

 बेनी

कात्तिक १८



महाशक्तिराष्ट्र अमेरिकामा ४६औं राष्ट्रपतिका लागि आज चुनाव हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीले सबैभन्दा बढी क्षति ब्यहोरेको अमेरिकाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माणमा नयाँ राष्ट्रपतिको छनोटले विशेष अर्थ राख्ने बताइन्छ ।




यसै सन्दर्भमा अमेरिकाको न्युयोर्क सहरस्थित योर्क कलेज अफ दि सिटी युनिभर्सिटी अफ न्युयोर्कमा पढाउँदै आएका प्राध्यापक डा. अविन ओझाको विश्लेषण यस्तो छः



आज अर्थात् नोभेम्बर ३, २०२० मंगलबार । 

अमेरिकाको ४६औं राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा राष्ट्रपति डोनाल्ड जे. ट्रम्प दोस्रो कार्यकालका लागि पूर्वउपराष्ट्रपति जोजेफ आर. बाइडेनसँग भिड्दै छन् । राजनीति क्षेत्रका जानकारका अनुसार निर्वाचन राष्ट्रपति निर्वाचनभन्दा पनि राष्ट्रपति ट्रम्पका लागि जनमत संग्रहको रूपमा छ । अहिले ट्रम्प रिपब्लिकन पार्टीको पर्यायवाचीजस्तै बनेका छन् । आप्रवासी मुद्दामा अनुदार छवि बनाएका र ‘अमेरिका पहिलो’ भन्दै आर्थिक विश्वव्यापीकरणभन्दा फरक धारको वकालत गर्ने ट्रम्पको लोकप्रियता अनुदारवादी (कन्जर्भेटिभ्स) अमेरिकी जनतामाझ कायम छ । त्यसो त आप्रवासीका लागि अनुकूल भनिएका र विश्वव्यापीकरणका पक्षपाती मानिएका बाइडेन उदार (लिबरल) अमेरिकी जनताबीच लोकप्रिय देखिन्छन् । विश्व राजनीति र राष्ट्रिय नीतिमा फरक मत राख्ने यी दुई उमेदवारको उमोदवारीका कारण पनि अघिल्ला अमेरिकी राष्ट्रपतीय निर्वाचनभन्दा यो निर्वाचनलाई विश्वले नै निकै चासोपूर्वक हेरेको छ । यो आलेखमा ट्रम्प या बाइडेन कसले बाजी मार्छन् भन्नेमा बहस गर्नुभन्दा पनि यस निर्वाचन र उमेदवारका विषयमा वर्तमानका केही नीतिगत तथा केही ऐतिहासिक स्थितिको समीक्षा गर्ने प्रयास छ । 


सर्वेक्षण प्रक्षेपण के भन्छ ?

०१६ को निर्वाचनजस्तै अहिले पनि प्रायः सञ्चार माध्यम तथा स्वतन्त्र अनुसन्धानले गरेको सर्वेक्षणले बाइडेनले बलियो अन्तरका साथ राष्ट्रपति ट्रम्पलाई पराजित गर्ने भविष्यवाणी गर्छ । सर्वेक्षणको इतिहास हेर्ने हो भने विभिन्न सर्वेक्षण कम्पनीले विभिन्न समयमा गरेका सर्वेक्षण र निर्वाचन नतिजा फरक भएको दृष्टान्त धेरै भेटिन्छन् । पछिल्लो दृष्टान्त ०१६ को निर्वाचन नै हो, जसमा हिलारी क्लिन्टनले जित्ने अनुमान गरिएको थियो । सन् १९३६ को निर्वाचनमा ‘लिटरली डाइजेस्ट’ले गरेको सर्वेक्षणमा सत्तासीन राष्ट्रपति फ्रयाङ्कलिन डी. रुजवेल्टविरुद्ध रिपब्लिकन उमेदवार एल्फ ल्यान्डनले ५५ प्रतिशत पपुलर भोट पाउने प्रक्षेपण गरेको थियो । तर, ल्यान्डनले केवल ३७ प्रतिशत मात्र पपुलर मत प्राप्त गरे । सर्वेक्षणको प्रारूप, स्याम्पल साइज, स्याम्पल्ड पपुलेसन, पोलिङ पद्धति आदिका कारण सर्वेक्षणमा गल्तीका सम्भावना (मार्जिन अफ एरर) प्रशस्त रहन्छन् ।  


सत्तासीन राष्ट्रपतिको दोस्रोपटकको उमेदवारीको नजिर ः पहिलोपटक सन् १८०१ मा अमेरिकाका दोस्रा राष्ट्रपति जोन एडम्स् दोस्रो कार्यकालका लागि थोमस ज्याफर्सनसँग पराजित भएयता राष्ट्रपतीय निर्वाचनमा १० पटक मात्र सत्तासीन राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचनमा पराजित भएका छन् । पछिल्लोपटक जर्ज एच. डब्लु. बुस सन् १९९२ मा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा बिल क्लिन्टनसँग पराजित भएका थिए । त्यसयता पछिल्लो २८ वर्षमा सत्तासीन राष्ट्रपतिले दोस्रो कार्यकालको निर्वाचन हारेका छैनन् । 


निर्वाचनको पछिल्लो सर्वेक्षणको अवस्था

अमेरिकी राष्ट्रिपति लोकप्रिय मतले होइन, ‘इलोक्ट्रोरल कलेज’ मतको आधारमा निर्वाचित हुन्छन् । कुल पाँच सय ३८ ‘इलोक्ट्रोरल कलेज’मध्ये दुई सय ७० कलेज जित्ने उमेदवारले बाजी मार्छन् । यसर्थ पनि राष्ट्रपतीय निर्वाचनको निर्णय अधिक जनसंख्या भएका वा थोरै जनसंख्या भएका राज्य या स्थिर रिपब्लिकन (रेड) राज्य वा डेमोक्र्याटिक (ब्लु) राज्यभन्दा पनि चल (स्विङ) राज्यको नतिजा नै निर्णायक रहँदै आएको छ । अहिले पनि ‘नोटेवल नाइन’ भनिने फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलाइना, ओहायो, आयोवा, पेन्सिलभेनिया, मिसिगन, विसकान्सिन र एरिजोना राज्य नै नतिजा उल्टाउने नौ राज्यका रूपमा सुनिन्छन् । हाल प्रक्षेपण गरिएका सर्वेक्षणलाई आधार मान्दा ‘नोटेवल नाइन’ राज्यमध्ये अधिकमा बाइडेनको पल्ला भारी छ । ‘नोटेवल नाइन’मा पनि फ्लोरिडा, पेन्सिलभेनिया, मिसिगन, ओहायो र नर्थ क्यारोलाइना जित्ने उमेदवार नै अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित हुने निश्चित छ । 


अग्रिम मतदानको अवस्था

विभिन्न सञ्चार माध्यममा आएका पछिल्ला आँकडाअनुसार नोभेम्बर २ सम्म ९ करोड ३५ लाख मतदाताले अग्रिम मतदान गरिसकेका छन् । ‘युएस टुडे’ का अनुसार अग्रिम मतदानको ४८ दशमलव ३ प्रतिशत डेमोक्र्याटिक, ४१ दशमलव ५ प्रतिशत रिपब्लिकन र १० दशमलव २ प्रतिशत मत स्वतन्त्रको पक्षमा खसेका छन् । सर्वेक्षणका अनुसार अधिक रिपब्लिकन मतदाताले निर्वाचनकै दिनमा मतदान गर्ने बताएका थिए भने डेमोक्र्याटिहरूको अग्रिम मतदानमा रुचि देखिएको थियो । यसर्थ नोभेम्बर ३ का दिन रिपब्लिकनको पक्षमा बढी मत खस्ने अनुमान गर्न सकिन्छ । 

आसन्न निर्वाचनमा पाका, कम शिक्षित तथा ग्रामीण अमेरिकी मतदाताको ठूलो हिस्सा ट्रम्पको पक्षमा देखिन्छ भने युवा, शिक्षित, तथा सहरी अमेरिकी बाइडेनको पक्षमा । निर्वाचनमा ट्रम्पलाई पुनः निर्वाचित गर्ने या ह्वाइट हाउसको साँचो बाइडेनलाई सुम्पिने छिनोफानो आजको निर्वाचनमार्फत अमेरिकी जनताले गर्नेछन् ।

 

ट्रम्पविरुद्ध बाइडेन

यो निर्वाचनलाई पछिल्लो शताब्दीकै सबैभन्दा महत्वपूर्ण निर्वाचनको रूपमा विश्लेषण गरिएको छ । निर्वाचनलाई धेरै धारबाट हेर्न सकिन्छ । प्रसङ्ग सुरु गरौं, अमेरिकी अन्तर्राष्ट्रिय नीति र सम्बन्धबाट । सामान्य हिसाबले हेर्दा अमेरिकी विदेश नीतिका प्रमुख तीन लक्ष्य छन्– सुरक्षा, समृद्धि र अमेरिकी आदर्शको विस्तार । 


सुरक्षा

सुरक्षाको कुरा गर्दा सैन्य तागतको कुरा आउँछ । जापान, फ्रान्स, भारत, बेलायत, रसिया, साउदी अरेबिया र चीनले सैन्य सुरक्षामा गर्ने कुल खर्चभन्दा अमेरिका एक्लैको सैन्य खर्च अधिक छ । ‘स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट’ को तथ्याङ्कअनुसार ती सात राष्ट्रको कुल सैन्य खर्च पाँच सय ६७ अर्ब डलर छ भने अमेरिकाको पाँच सय ९६ अर्ब डलर छ । सैन्य खर्च तथा गठबन्धनका अन्य सैन्य खर्चबारे दुई उमेदवारको फरक दृष्टिकोण छ ।


समृद्धि

अहिले पनि विश्वको ठूलो अर्थतन्त्र अमेरिका नै छ । उसलाई चुनौती दिँदै छ, चीन । यस हिसाबले अहिलेको विषम परिस्थितिपश्चात् आगामी दिनमा आर्थिक नीतिलाई कसरी अगाडि लैजाने महत्वपूर्ण चुनौती छ । ट्रम्पको ‘अमेरिका पहिलो’ कि सन् १९९० पश्चात्को उपलब्धि विश्वव्यापीकरणको स्वतन्त्र व्यापार नीति ? निर्वाचनको परिणामले यस विषयमा अमेरिकी जनताको अभिमत पनि प्रदर्शन गर्नेछ । 


अमेरिकी विचारको विस्तार

सन् १७८९ मा जर्ज वासिङ्टनले आफ्नो पदभार समारोहमा भनेका थिए, ‘दि सेक्रेड फायर अफ लिबर्टी एन्ड दि डेस्टिनी अफ दि रिपब्लिकन मोडल अफ गभर्मेन्ट आर.... इनट्रस्टेड टु दि ह्यान्डस् अफ दि अमेरिकन पिपुल’ (अमेरिकी आदर्श र मान्यता विश्वभरि फैलाउन अमेरिकी नेतृत्वको भूमिक सदैव अहं हुनुपर्छ) । 


पछिल्लो समय ट्रम्प प्रशासन र नीतिबाट सहयोगी राष्ट्रहरू पनि सन्तुष्ट देखिँदैनन् । यी तीन अमेरिकी वैदेशिक नीतिभित्र ट्रम्पको नीति र बाइडेनको दृष्टि नितान्त फरक छ । यसर्थ पनि यो निर्वाचन अमेरिकी जनताका लागि अघिल्ला निर्वाचनभन्दा बढी संवेदनशील हुन पुगेको हो । 


दोस्रो, कोभिड–१९ को महामारी । एक हिसाबले भन्ने हो भने आसन्न निर्वाचनमा कोभिड–१९ निर्णायक बन्न सक्छ । कोभिडले सम्भवतः विश्वमै सबैभन्दा ठूलो क्षति अमेरिकामै पु¥यायो होला । उच्च मानवीय क्षति त भयो नै, अर्थतन्त्र पनि शिथिल छ । कोभिड नियन्त्रणमा ट्रम्प विफल रहे– धेरै अमेरिकनको बुझाइ यही नै छ । फलतः पछिल्लो समय उनको लोकप्रियतामा क्रमिक ह्रास आएको छ । सन् १९२९ को ‘वाल स्ट्रिट क्र्यास’ तथा महामन्दीका कारण राष्ट्रपति हर्वट हुभरको लोकप्रियतामा यस्तै ह्रास आएको थियो । परिणामतः सन् १९३२ को राष्ट्रपतीय निर्वाचनमा फ्र्याङ्कलिन रुजवेल्टले सत्तासीन राष्ट्रपति हुभरलाई पराजित गरेका थिए । अहिलेको अवस्था ठ्याक्कै त्यस्तै त नहोला, उस्तै–उस्तैचाहिँ छ । विज्ञान र प्रविधिभन्दा ‘गड र गन’ मा विश्वास गर्ने ट्रम्प तथा विज्ञान र नवप्रर्वतनमा विश्वास राख्ने बाइडेनबीच नीतिगत भिडन्तका हिसाबले पनि अर्थपूर्ण छ, निर्वाचन । 


तेस्रो, पारम्परिक ऊर्जा तथा स्वच्छ ऊर्जा । २०१६ को निर्वाचनमा ट्रम्प विजय हुनुको एउटा कारण कन्भेन्सनल इनर्जी (फसिल फ्युल) को पक्षमा अडिग रहनु पनि हो । २०१७ को युएस एनर्जी एन्ड इम्प्लोयमेन्ट रिपोर्टका अनुसार ६४ लाख अमेरिकी प्रत्यक्ष रूपमा परम्परागत ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रमा रोजगार छन् । अहिले पनि जैविक ऊर्जा उत्खनन (फ््रयाकिङ) को मुद्दा चर्केको छ । ट्रम्प फ््रयाकिङको पक्षमा उभिएका छन् भने बाइडेन निर्वाचन प्रचारको सुरुवाती दिनमा फ््रयाकिङविरुद्ध देखिए पनि पछिल्लो समय भने लचिलो देखिन्छन् । पेन्सिलभेनिया, फ्लोरिडा, मिसिगनजस्ता स्विङ राज्यसहित २१ भन्दा बढी राज्यमा फ््रयाकिङ चालू रहेको या जैविक ऊर्जाको प्रचुर सम्भावना छ । फ््रयाकिङ बन्द गर्ने या स्वच्छ ऊर्जालाई प्राथमकितामा राख्ने नीतिले पनि निर्वाचन नतिजामा निर्णायक भूमिका खेल्ने देखिन्छ ।


चौथो, आप्रवासी मुद्दा । आप्रवासी नीतिमा अनुदार ट्रम्पको तुलनामा बाइडेन उदार देखिन्छन् । पछिल्लो समय अमेरिकी आप्रवासी नीति कडा बन्दै आएको छ । पछिल्लोपटक ओबामा–बाइडेन प्रशासनले आप्रवासीका लागि केही नीतिगत सुधार गरेको भए पनि आप्रवासीलाई देश निकाला भने अहिलेसम्मकै अधिक गरेको थियो । यसले पनि भोलि बाइडेन निर्वाचित भए उनले कस्तो आप्रवासी नीति लिनेछन् भन्ने चासोकै विषय हुनेछ । तथापि, यो निर्वाचन आप्रवासीविरोधी विरुद्ध आप्रवासीमैत्रीको रूपमा पनि हेर्न सकिन्छ । अर्कोतर्फ यसपटकको अग्रिम मतदानमा नयाँ मतदाता एवं हिस्पेनिक तथा ल्याटिनो मतदाता अघिल्लो निर्वाचनभन्दा धेरै देखिएकाले पनि त्यो हिस्सा पनि निर्वाचनको नतिजामा निर्णायक हुन सक्नेछ । त्यसो त स्वास्थ्य सेवा तथा बिमाका मुद्दामा पनि ट्रम्प र बाइडेनका मतदाता विभाजित छन् । प्रि–एक्जिस्टिङ कन्डिसन भएका तथा न्यून आय भएकाहरूले सुलभ स्वास्थ्य सेवा पक्षधर बाइडेनतर्फ झुकाव राखेका छन् । 


अन्तमा

आसन्न निर्वाचनमा पाका, कम शिक्षित तथा ग्रामीण अमेरिकी मतदाताको ठूलो हिस्सा ट्रम्पको पक्षमा देखिन्छन् भने युवा, शिक्षित, तथा सहरी अमेरिकी बाइडेनको पक्षमा । निर्वाचनमा ट्रम्पलाई पुनः निर्वाचित गर्ने या ह्वाइट हाउसको साँचो बाइडेनलाई सुम्पिने छिनोफानो आजको निर्वाचनमार्फत अमेरिकी जनताले गर्नेछन् । ट्रम्प या बाइडेन, जसले जिते पनि अमेरिकाको राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति मौजुदा नीतिभन्दा निकै फरक हुने सहज अनुमान गर्न सकिन्छ । 


साभारः नयाँपत्रिका


×
Berita Terbaru Update