बेनी
कात्तिक १७
पछिल्लो केही दिनयता म्याग्दीमा ‘एक घर एक पिसिआर परीक्षण’ गर्नुपर्ने माग बढेको छ । दशैंमा शहरबाट गाउँ पसेका, किनमेलका लागि बजार झरेका र सङ्क्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिबाट कोरोना भाइरस समुदायमा सरेको आशङ्कामा यस्तो माग गरिएको हो ।
यो आवाज उठ्नुमा छिमेकी जलजला गाउँपालिकाले शुरु गरेको ‘एक घर एक पिसिआर परीक्षण’को कार्यक्रमले पनि धेरथोर प्रभाव पारेको छ ।
‘ट्राभल हिस्ट्री’ नभएका बेनीका वयोवृद्ध खड्कलाल श्रेष्ठको सङ्क्रमणबाट निधन भयो । यसले पनि पिसिआर परीक्षणको माग बढाएको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले १५ गतेदेखि लागू हुने गरी बेनी नगरपालिका अन्तर्गतका वडा कार्यालय, बैंक, वित्तीय संस्था पसलहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको अवस्थामा बन्दभन्दा पिसिआर परीक्षणमा जोड दिइनुपर्ने माग उठेको हो ।
जेहोस्, पछिल्लो केही दिनयता पिसिआर परीक्षण बढाउनुपर्ने माग म्याग्दीमा पनि बढ्दो छ ।
कुरा यसरी शुरु गरौंः
बेनी घर भई हाल अष्ट्रेलियामा रहेका हिक्मत श्रेष्ठले शनिबार बिहानै फेसबुकमा एउटा स्ट्याटस लेखे, “सङ्क्रमण समुदायमै प्रवेश गरेको छ । म्याग्दी जिल्लामा यथाशिघ्र एक घर एक पिसिआर लागू गरौं । अहिले सरकार र जनता एक भएर यो विपत्तिसँग लड्न जरुरी छ । खर्चको कुरा आउँछ भने म यस अभियानमा व्यक्तिगत तर्फबाट ३५ हजार रुपैयाँ सहयोग गर्न तयार छु ।”
त्यसैगरी समसामयिक विषयमा आफ्नो मत राख्दै आएका स्थानीय युवा दिनेशजङ्ग कटुवालले लेखे,“ म्याग्दी जिल्ला १ हप्ता पूर्ण निरीक्षणमा राखेर एक घर एक पिसिआर परीक्षण गरौं । कोभिड–१९ परीक्षणको लागि स्थानीय सरकारसँग आर्थिक (स्रोत) को समस्या हुन्छ भने जनस्तरबाट रकम संकलन गरौं । समुदायस्तरमा कोभिड पोजेटिभ देखिएको खण्डमा परिस्थिति हेरेर होम क्वारेन्टाइन राखेर औषधि उपचार गर्ने कि हस्पिटलमा आइसोलेसन गर्ने यो विषयमा जिल्लाको बुद्धिजीवी वर्गबाट तुरुन्तै छलफल गरौं । समुदायको रक्षा गर्नु तपाई हाम्रो कर्तव्य हो ।”
त्यसैगरी बाबियाचौरका युवा श्रीराम पौडेलले लामो स्ट्याटस लेख्दै ‘निशुल्क कोरोना उपचारको घोषणा असम्भव देखिएकोले कम्तीमा दुई हप्ता यातायात बन्द गर्नुपर्ने, जलजला गाउँपालिकाले जस्तै एक घर एक पिसिआर गर्नुपर्ने, स्थानीय तहमा तयार भएका कोरोना उपचार केन्द्रको प्रभावकारी अनुगमन गरी प्रयोगमा ल्याउने वातावरण निर्माण गर्नुपर्ने’ जस्ता धारणा सार्वजनिक गरे । सबै कुरामा सरकारको मुख ताक्ने भन्दा पनि जनता आफै सचेत हुनुजस्तो ठूलो उपचार केही नभएको पौडेलको भनाइ थियो ।
त्यसैगरी नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले ‘लकडाउन गरिहाल्नुपर्ने प्रावधिक आधार, क्वारेन्टिन र आइसोलेसनको क्षमता वृद्धिका नयाँ थप योजना, नागरिक सचेतनाबारेका योजना, स्वास्थ्य मापदण्ड पालना गरेनगरको अनुगमन र २१ गतेपछिको योजनाबारे’ नीतिगत प्रश्न राख्दै सरोकारवालासँग जवाफ मागे ।
कानुनी पृष्ठभूमिका श्रेष्ठले उठाएका धेरै कुरा महत्वपूर्ण छन् । तर, के चाहिँ बिर्सन हुन्न भने उनी आफै म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्व गरिसकेका व्यक्ति हुन् ।
समाजका चिनिएका केही व्यक्तिका यी अभिव्यक्तिले केही सवाल उठाउँछन्ः
के एक घर एक पिसिआर परीक्षण सम्भव छ ?
लकडाउन अर्थात् बन्दाबन्दी नै जोखिम टार्ने उपाय हो त ?
यातायात क्षेत्र बन्द नगरी कसरी हुन्छ ?
कात्तिक २१ गतेपछि के हुन्छ ?
खासमा यी प्रश्न जति सरल छन् उत्तरचाहिँ त्यस्तो आउँदैन । किनकि हाम्रासामु कोरोनाको महामारी जो छ । हुन पनि विद्यमान संरचनाले व्यवस्थापन गर्न नसक्ने अवस्था नै विपत्ति वा महामारी हो । त्यसैले हामी सबैले खोजेजस्तो ‘रेडिमेड’ उत्तर यतिबेला कसैसँग छैन ।
अब ‘एक घर एक पिसिआर’बारे चर्चा गरौं ।
के हो पिसिआर ?
कोरोनाको सङ्क्रमण भएनभएको थाहा पाउन अहिले विश्वभर अपनाइएका दुई विधि छन् । ती हुन्ः
1. 1. RAPID DIAGNOSTIC TEST (RDT)
2. 2. POLYMERASE CHAIN REACTION (PCR) TEST
यी दुईमध्ये पिसिआर परीक्षण बढी भरपर्दो भएकोले पछिल्लो समय पिसिआरमा बढी जोड दिने गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालका अनुसार पिसिआर परीक्षण भनेको ‘कन्फर्मेटरी टेस्ट’ हो, समस्याको समाधान होइन । पिसिआर भ्याक्सिन, औषधि वा अन्य कुनै औषधि होइन । यो त व्यक्तिको शरीरमा (कोरोना) भाइरसको जीन छ कि छैन भनेर पत्ता लगाउने विधि हो, सङ्क्रमण निको पार्ने होइन ।
यदि कुनै व्यक्तिको पिसिआर परीक्षण गर्दा पोजेटिभ आयो भने त्यसको ‘सेन्सिटिभिटी रेट’ ६५ देखि ७० प्रतिशतमात्रै हुन्छ । त्यसैले परीक्षणबाट पोजेटिभ वा नेगेटिभ जस्तोसुकै नतिजा आए पनि आत्तिने र हौसिनु जोखिमपूर्ण हुन्छ ।
बेनी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले एकपटक पिसिआर परीक्षण गर्दैमा समस्याको समाधान नहुने बताएका छन् । ‘एक घर एक पिसिआर परीक्षण’ भन्नु बेकारको खर्चको भएको उनको भनाइ थियो । “यो त राजनीति गर्ने व्यक्तिले पब्लिसिटीका लागि गर्ने कुरा हो”, नाम नखुलाउने शर्तमा ती स्वास्थ्यकर्मीले भने, “सरल भाषामा भन्दा बालुवामा पानी हालेजस्तै हो, उपयुक्त छैन ।”
तथ्याङ्क के भन्छ ?
२०६८ सालको जनगणना अनुसार गण्डकी प्रदेशको जनसंख्या २४ लाख ३ हजार १६ रहेको छ । त्यसैगरी प्रदेशको घरधुरी संख्या ५ लाख ७६ हजार ५०१ छ । कुरा स्पष्ट छ, एक घर एक पिसिआर परीक्षणको अभियान शुरु गर्ने हो भने प्रदेश सरकारका प्रयोगशालामा झण्डै ६ लाख नमुना स्वाब परीक्षण गर्नुपर्ने हुन्छ । गण्डकी प्रदेशको नगरपालिका क्षेत्रमा बसोबास गर्नेहरु कुल जनसंख्याको ६०.५५ प्रतिशत अर्थात् १४ लाख ५२ हजार १८६ जना छन् । यसको अर्थ के हो भने नगर क्षेत्रमा जनघनत्व बढी हुने हुँदा त्यहाँ परीक्षणको दायरा बढाउनु पर्छ ।
अब कुरा गरौं प्रयोगशालाको । गण्डकी प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण भएनभएको जाँच्न सक्ने प्रयोगशाला तीनओटा छन् ।
१. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)
२. प्रदेश जनस्वास्थ्य कार्यालय, पोखरा
३. लाइफ केयर अस्पताल
तीनओटा मध्ये पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाहेक अन्त पिसिआर परीक्षण गर्दा २ हजार रुपैयाँ शूल्क बुझाउनु पर्दछ ।
अब म्याग्दीको घरधुरी संख्या हेरौंः
अन्नपूर्ण गाउँपालिकाः ३७००
धवलागिरी गाउँपालिकाः ३२२९
बेनी नगरपालिकाः ८६५२
मङ्गला गाउँपालिकाः ३७४८
मालिका गाउँपालिकाः ४३००
रघुगङ्गा गाउँपालिकाः ४०९८
म्याग्दीका ६ ओटै स्थानीय तहको जोड्दा घरधुरी संख्या २७ हजार ७ सय २७ हुन्छ ।
जिल्लाको ग्रामीण बस्तीलाई छाडेर जनघनत्व बढी भएका गाउँबस्तीमा मात्रै अभियान चलाउने हो भने पनि कम्तीमा १५ हजार परीक्षण तत्कालै गर्नुपर्ने हुन्छ ।
प्राविधिक अवस्था
हामीले माथि भनिसक्यौं कोरोना जाँच्न सक्ने ल्याबहरु गण्डकी प्रदेशमा अहिले जम्मा तीनओटा मात्रै छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालको भनाइ सुन्ने हो भने सबै अवस्था सामान्य रहेमा प्रदेशका प्रयोगशालाले परीक्षण गर्न सक्ने भनेको अधिकतम दैनिक ३ हजार हो । परीक्षणका लागि विद्यमान पूर्वाधार, जनशक्ति र अन्य व्यवस्था हेर्दा तत्काल यो संख्या बढ्ने कुनै आधार छैन ।
गण्डकी प्रदेशमा हाल ११ जिल्ला छन् । त्यहाँ म्याग्दीको मात्र परीक्षण गर्ने भन्ने त हुन्न होला । प्रोटोकल अनुसार गर्दा म्याग्दीको १५ हजार नमुना परीक्षण हुन कति समय लाग्ला ? हामी सबैले अनुमान गर्न सक्छौं ।
माथिको आँकडा हेर्ने हो भने (कसैलाई चित्त नबुझ्न पनि सक्छ) ‘एक घर एक पिसिआर’ भन्न जति सजिलो छ व्यवहारमा त्यति सरल देखिन्न ।
‘एक घर एक पिसिआर’ अभियानको अर्को कमजोरी के हुन सक्छ भने एउटा परीक्षण र अर्को परीक्षणको अन्तर कति समय हुने भन्ने पनि यसमा निश्चित हुँदैन । किनकि परीक्षणका लागि स्वाब दिएर बजारमा घुम्न निस्कने, यदि नेगेटिभ रिजल्ट आएको छ भने फेसबुकमा फोटो पोस्ट्याउँदै भिडभाडमा निस्कने नेपालीहरुको बानी म्याग्दीमा पनि लागू नहोला भन्न सकिन्न । (त्यस्ता घटना धेरै छन्)
जिल्ला जनस्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले पिसिआर परीक्षण भनेको कोरोना भाइरसको सङ्क्रमण भए नभएको निधो गर्ने विधिमात्र भएको जानकारी दिए । “कोरोनाको जोखिममा हरेक व्यक्ति रहेका हुन्छन्,” प्रमुख लम्सालले भने, “त्यसैले एउटा व्यक्तिको नतिजाका आधारमा परिवारका सबै सदस्य ठीक वा बेठीक छन् भनेर कसरी भन्न सकिन्छ ?” लम्सालका अनुसार एकाघरको एउटा सदस्यमा पोजेटिभ देखिँदा अर्कोलाई भाइरसको सङ्क्रमण नेगेटिभ देखिएका अनेक उदाहरण छन् ।
स्वाब सङ्कलन र परीक्षणको व्यवस्था बेनीमै गर्नुपर्ने र त्यसका लागि आवश्यक परे मेसिन खरिद गर्नुपर्छ भन्ने भनाइप्रति असहमति जनाउँदै लम्साल भन्छन्, “१५–२० लाखको मेसिन किन्नु ठूलो कुरा होइन । तर, त्यसका लागि ‘बायोसेप्टिक’ ल्याब सेटिङ र दक्ष जनशक्ति व्यवस्थापन मुख्य कुरा हो ।” बेनी अस्पतालमा प्रयोगशालामा काम गर्न सक्ने तीन जना रहेकोमा दुई जनालाई प्रदेश प्रयोगशालामा पठाउनुपरेको उनको भनाइ छ ।
बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमृत अधिकारीले पनि पिसिआर परीक्षणबाट पोजेटिभ नतिजा आएपछि व्यवस्थापन गर्ने ठाउँ भनेको होम आइसोलेसन भएको बताए । “नेपालको अहिलेसम्मको केस हेर्दा भेन्टिलेटर वा आइसियु आवश्यक पर्ने भनेको दुई प्रतिशतजति बिरामीलाई हो,” डा. अधिकारीले भने, “त्यसैले एकपटक मात्रै पिसिआर परीक्षण गरेर ढुक्क हुने भन्ने होइन । सङ्क्रमणको सम्भावना त्यसपछि पनि रहन्छ ।”
पिसिआर परीक्षणको ‘सेन्सिटिभिटी’ ६५–७० प्रतिशत हुने जानकारी दिँदै डा. अधिकारीले नतिजाको ७२ घण्टापछि त्यसको वैधता समाप्त हुने बताए । “यसको अर्थ तपाईंको पिसिआर नतिजा नेगेटिभ आएको छ भने पनि त्यसको ७३ घण्टापछि तपईं शङ्कास्पद सङ्क्रमित नै हो । त्यसैले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, सरसफाईमा ध्यान दिने काम गर्नैपर्छ ।” एक घर एक पिसिआर भन्ने विषय धेरै ठाउँमा छलफलको विषय बनेको तर, पछिल्लो समय बन्द भएको उनको भनाइ छ ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले पिसिआर मात्रै समस्याको समाधान हो भन्ने बुझाइ बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । “सङ्क्रमित भएर अस्पताल बस्नुभन्दा सजग भएर दैनिकी चलाउनु महत्वपूर्ण कुरा हो,” अध्यक्ष कटुवालले भने, “पिसिआर परीक्षणलाई सबै कुरा मान्नु भएन ।” बेनी आस्पतालमा कार्यरत आधा दर्जन स्वास्थ्यकर्मी सङ्क्रमित भएको, केही होम आइसोलेसनमा बसेको जानकारी दिँदै अध्यक्ष कटुवालले अस्पतालबाटै सङ्क्रमण सर्न सक्नेमा सचेत हुन सबैलाई आग्रह गरे ।
के गर्ने त ?
“१४ दिन छुट्टै बस्ने ।”
जनस्वास्थ्य प्रमुख लम्सालका अनुसार ‘शङ्का लागेमा वा नमुना परीक्षणका लागि स्वाब दिएपछि घरमा छुट्टै बस्नु नै सबैभन्दा सरल उपाय हो । यदि १४ दिनसम्म थप जटिलता नआए नर्मल लाइफ शुरु हुन्छ । यसमा धेरै सोच्नुपर्ने विषय केही छैन ।’
म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोरोनाको सन्त्रासबाट जोगिन मास्क लगाउनु पहिलो शर्त भएको बताउँदै सबैले यतिमात्रै गर्ने हो भने संक्रमणको जोखिम आधा हुने बताएका छन् । संक्रमणको जोखिमलाई घटाउन विशेषगरी बजार क्षेत्रमा एक साता बन्द गरिएको जानकारी दिँदै प्रजिअ अधिकारीले मास्क लगाएर भौतिक दुरी कायम गर्नु नै संक्रमणबाट जोगिने सरल उपाय भएकोमा जोड दिए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र म्याग्दीका सदस्य सुरज केसीले पिसिआर टेस्ट औषधि नभएको धारणा राखेका छन् । “एकपटक चेक गरेर फेरि लाग्दैन भन्नलाई पिसिआर कुनै औषधि होइन,” केसीले भने, “बरु लक्षण देखिएको समयमै चेक गरेर सङ्क्रमितलाई राख्नको लागि प्रत्येक वडामा आइसोलेसन बनाउनतिर लाग्नु राम्रो हुन्छ।”
‘सङ्क्रमणको स्रोत’ पत्ता नलाग्नु अहिलेको ठूलो चुनौती भएको बताउँदै केसीले सबैले आआफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
त्यसैगरी शैक्षिक व्यक्तित्व डेकबहादुर बानियाँले कोरोनाको सन्त्रासबाट नागरिक आफै बच्नुपर्ने बताउँदै कसैले बचाइदेला भनेर आशा गर्नु बेकार भएको टिप्पणी गरेका छन् । “सावधानी आफैले अपनाउने हो, नियम मापदण्ड पालन गर्ने हो, यहाँ कसैले बचाइदेला भनेर आशा गर्नु बेकार छ ।”
अबको बाटो