बेनी
मङ्सिर ३
सरकारले आफ्नो क्षेत्रभित्रका विद्यालय खोल्ने जिम्मा गाउँपालिका र नगरपाकिालाई दिएको छ । यही कात्तिक २० गतेको मन्त्रीस्तरीय निर्णयबाट विद्यालय सञ्चालन सम्बन्धी यस्तो निर्णय भएको हो ।
![]() |
साङ्केतिक तस्विर |
कोभिड–१९ बाट जोगिन न्यूनतम मापदण्ड पूरा गरी विद्यालय खोल्न सकिने गरी मन्त्रीस्तरीय निर्णयबाट कार्यढाँचा पारित भएपछि विद्यालय खोल्ने नखोल्ने जिम्मेवारी पालिकामा सरेको हो ।
नयाँ कार्यढाँचा अनुसार परिस्थितिको मूल्याङ्कन गरी स्थानीय सरकार अर्थात् गाउँपालिका र नगरपालिकाले विद्यालय खोल्ने नखोल्ने निर्णय लिन सक्नेछन् ।
विद्यालय खोल्नुअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)सँग समन्वय गर्नुपर्ने पनि कार्यढाँचामा उल्लेख छ ।
विद्यालय खोल्ने निर्णय लिँदा पर्याप्त मात्रामा पानी, हात धुने ठाउँ, साबुन र अरु सरसफाईका सामग्रीको व्यवस्था गर्नुपर्ने सरकारले जारी गरेको कार्यढाँचामा उल्लेख छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा–२०७७ जारी गर्दै सरसफाईका सामग्रीको व्यवस्था गरी पर्याप्त प्रकाश र हावा आवत जावत गर्ने कक्षाकोठामा कक्षा सञ्चालन गर्न भनेको छ ।
त्यसैगरी विद्यालयमा सबै विद्यार्थीको शरीरको तापक्रम नाप्ने, कुनै विद्यार्थी, शिक्षक वा कर्मचारी बिरामी परेमा विद्यालय आउन नहुने लगायतका व्यवस्था पनि सरकारले गरेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण म्याग्दीमा जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म कक्षा सञ्चालनको अनुमति दिएको छैन । तर, केही पालिकामा भने विद्यार्थीलाई विद्यालयमा बोलाएरै पढाउने गरिएको पाइएको छ ।
अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षकले भने, “सरकारले निर्णय नगरे पनि यहाँ पढाइ भैरहेको छ । गाउँपालिकाको केन्द्रबाट नजिकमा पर्ने विद्यालय बन्द छन् । अन्त पढाइ भैरहेको छ ।”
स्वास्थ्य मापदण्डका नियम पालना नगरी विद्यालय सञ्चालन गर्दा विशेषगरी तल्लो कक्षामा पढ्ने बालबालिका जोखिममा रहेको ती शिक्षकको भनाइ छ ।