बेनी
कात्तिक २८
अबदेखि म्याग्दीबाट थाइराइडको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । बेनी अस्पतालले बिहीबारदेखि थाइराइडको परीक्षण शुरु गरेपछि यस्तो सहज भएको हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत जिल्ला अस्पतालमा अत्याधुनिक सेवा विस्तारको क्रममा थाइराइडको उपचारको व्यवस्था भएको हो । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले थाइराइडको समस्या झेल्दै आएका बिरामीलाई लक्षित गरी मेसिन जडान गरी सेवा शुरु भएको जानकारी दिए ।
अध्यक्ष कटुवालका अनुसार जिल्लाभित्र थाइराइडको समस्या भएका धेरै बिरामी भए पनि नियमित उपचार र जनचेतनाको अभावले समयमै उपचार पाउन नसकेका विरामीहरु सेवा विस्तारसँगै लाभाविन्त हुनेछन् ।
गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनको पहलमा उक्त सेवा थप गरिएको अध्यक्ष कटुवालको भनाइ छ । अस्पतालको गुणस्तर राम्रो भएमा मात्र नागरिकको विश्वास आर्जन गर्न सकिने भएकाले थप नयाँ र आधुनिक सेवाहरु समेत थप्ने योजना रहेको अध्यक्षको भनाइ छ ।
बेनीमा थाइराइडको परीक्षणको सुविधा नहुँदा थाइराइडको उपचारका लागि पोखरा र काठमाडौ जानुपर्ने बाध्यता थियो ।
बेनी अस्पतालका प्रमुख डा. अमृत अधिकारीले थाइराइड समस्याका बारेमा जनस्तरमा सचेतना बढाउनुपर्ने बताएका छन् । “थाइराइडको समस्या धेरै मानिसमा हुनसक्छ । तर, परीक्षणको व्यवस्था नहुँदा रोग पालेर बस्ने अवस्था थियो।” सेवासँगै रोगका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने डा.अधिकारीको भनाइ छ ।
थाइराइडले कपाल धेरै झर्ने, हात काँप्ने, गर्मी बढी हुने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी र कम आउने, निद्रामा गडबडी हुनेलगायतका लक्षण देखिने चिकित्सकहरु बताउँछन् ।

