बेनी
कात्तिक २६
मङ्गला गाउँपालिकाका एक किशोरको म्याग्दी खोलामा डुबेर मृत्यु भएको छ । गाउँपालिकाको छिसवाङका स्थानीय १६ वर्षे किशोर शङ्कर विकको मृत्यु भएको हो । नदीमा डुबेर बेपत्ता भएका विश्कर्माको शव बुधबार बिहान फेला परेको हो ।
सशस्त्र प्रहरी बल, आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट खटिएको गोताखोर टोलीले नदीको चेपबाट विकको शव निकालेको जानकारी दिए ।
गुरुङका अनुसार १२–१५ फिट गहिरो तालबाट मृतकको शव निकालिएको थियो ।
छिसबाङस्थित म्याग्दी नदीमा पौडी खेल्नेक्रममा सोमबार बिक बेपत्ता भएका थिए ।
जनपथ प्रहरी र स्थानीयबासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोताखोर टोली मगाइएको थियो ।

