बेनी
कात्तिक २६
रूसले आफ्नो देशमा विकास भैरहेको कोरोनाविरूद्धको भ्याक्सिन (स्पुतनिक फाइभ) ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो ।
![]() |
| प्रतीकात्मक तस्विर |
अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै रूसले आफ्नो भ्याक्सिनबारे विवरण सार्वजनिक गरेको हो ।
रूसले गत अगस्टमै स्पुतनिक फाइभ भ्याक्सिनलाई स्वीकृति दिएको सार्वजनिक भएको थियो । संसारका अरू मुलुकभन्दा पहिला कोरोना भ्याक्सिन बनाउने लक्ष्यका साथ रूसले तेस्रो चरणको परीक्षण बिनै खोपलाई स्वीकृति दिएको हो ।
त्यसपछि रूसले तेस्रो चरणको परीक्षण गरेको थियो । बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित हो । उनीहरूलाई भ्याक्सिनका दुबै डोज लगाइएको थियो ।
भ्याक्सिन विकासमा महत्वपूर्ण भूमिका खेलेको र संसारभर वितरणको जिम्मा पाएको रसियाली डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले भ्याक्सिनका दुई डोज लगाएका मानिसलाई कोरोना संक्रमण हुने सम्भावना ९२ प्रतिशत कम भएको बताएको छ ।
‘तथ्यमा आधारित भएर हामीले एउटा प्रभावकारी भ्याक्सिन देखाइरहेका छौं,’ फन्डका प्रमुख किरिल द्मित्रिएभले भने ।
